हेमा भट्ट/कञ्चनपुर– कृष्णपुर नगरपालिकाले शुक्लाफाँटा आरक्ष पीडित परिवारलाई राहतस्वरूप त्रिपाल हस्तान्तरण गरेको छ। विपद् र कठिन परिस्थितिमा बसोबास गर्दै आएका पीडित परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले त्रिपाल उपलब्ध गराएको हो।

नगरपालिकाको पहलमा गरिएको उक्त सहयोगप्रति शुक्लाफाँटा जिल्ला संघर्ष समिति सचिव कृष्ण भट्टले कृष्णपुर नगरपालिका र नगर प्रमुख हेमराज ओझाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले आरक्ष पीडितको पीडा बुझेर नगरपालिकाले देखाएको मानवीय संवेदनशीलता प्रशंसनीय रहेको बताए।

सचिव भट्टले विगतदेखि नै पटक-पटक आन्दोलन र पहल गर्दा पनि समस्या समाधान हुन नसकेको उल्लेख गर्दै आफूहरू कञ्चनपुर वन डिभिजन कार्यालय महेन्द्रनगर वडा नम्बर ४ मा रहेको जडिबुटी कम्पनीको जग्गामा बस्दै आएको बताए। “हाम्रो समस्या समाधान नहुँदासम्म सिडिओ र वनका प्रमुखको मौखिक सहमतिमा बसेका छौँ, उनले भने।

उनका अनुसार कृष्णपुर नगरपालिकाले यसअघि पनि दाउरा, पाल, खाजा लगायत करिब एक लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको थियो। हाल पुनः त्रिपाल उपलब्ध गराएर नगरपालिकाले पीडित समुदायप्रति देखाएको निरन्तर साथप्रति उनले आभार व्यक्त गरे।
जिल्ला संघर्ष समिति अध्यक्ष जयबहादुर रोकायले पनि नगर प्रमुख हेमराज ओझासहित सम्पूर्ण नगरपालिका कर्मचारीलाई धन्यवाद दिएका छन्। उनले भने, हामीलाई न्याय चाहिन्छ, जबसम्म न्याय पाउँदैनौँ तबसम्म यहीँ बस्नेछौँ। पीडित परिवारले समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै न्यायोचित समाधानको अपेक्षा राखेका छन्।
कृष्णपुर नगरपालिकाले भने पीडित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










