हेमा भट्ट/ कञ्चनपुर – सुदूरपश्चिमको महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा नयाँ इतिहास रचेको छ। अस्पतालमा पहिलो पटक जटिल स्पाइन (मेरुदण्ड) सर्जरी सफलतापूर्वक सम्पन्न भएपछि स्थानीयस्तरमै विशेषज्ञ उपचार सम्भव भएको भन्दै यसलाई अस्पतालको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भीमदत्त नगरपालिका-३ तिलकपुर निवासी मुनि बोहरा रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन्। दुर्घटनापछि उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो। यसअघि यस्ता जटिल प्रकृतिका बिरामीलाई काठमाडौं वा अन्य ठूला अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहँदै आएको थियो।

तर यसपटक महाकाली प्रादेशिक अस्पतालमै सफल शल्यक्रिया भएपछि उपचार सेवामा नयाँ भरोसा थपिएको छ। स्पाइन सर्जरी केवल शल्यक्रिया मात्र नभई बिरामीलाई पुनः उठ्न, हिँड्न र सामान्य जीवनमा फर्काउने उद्देश्यसँग जोडिएको संवेदनशील उपचार प्रक्रिया हो। उक्त शल्यक्रिया डा. दुर्गेश चौधरीको नेतृत्वमा अपरेशन थिएटर (OT) टिमले सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले जनाएको छ। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद पन्तले सफल शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक, नर्स, प्राविधिक तथा अस्पताल परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विगतमा अधिकांश जटिल मेरुदण्डका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अहिले अस्पतालकै दक्ष जनशक्ति, समन्वय र निरन्तर प्रयासका कारण स्थानीयस्तरमै यस्तो सेवा दिन सफल भएको बताए।

अध्यक्ष पन्तले अस्पताललाई थप सेवामैत्री र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै बिरामी अस्पताल प्रवेश गरेदेखि उपचार सम्पन्न गरेर घर फर्किने क्षणसम्म प्रत्येक प्रक्रिया सहज, छिटोछरितो र प्रभावकारी बनाउन अस्पताल निरन्तर लागिपर्ने बताए। उनका अनुसार अस्पतालको यो उपलब्धि चिकित्सकहरूको व्यावसायिक दक्षता, व्यवस्थापनको सक्रियता र सम्पूर्ण अस्पताल परिवारको सामूहिक सहकार्यको परिणाम हो। यसले सुदूरपश्चिमका नागरिकलाई आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास अझ मजबुत बनाएको छ। अस्पताल प्रशासनले आगामी दिनमा पनि विशेषज्ञ सेवा विस्तार गर्दै जटिल शल्यक्रियाहरू स्थानीयस्तरमै उपलब्ध गराउने लक्ष्यका साथ आवश्यक पूर्वाधार, जनशक्ति र सेवा व्यवस्थापनलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ।











