भीमदत्त–४ ले गरिदियो विपन्न परिवारको स्वास्थ्य बिमा


महेन्द्रनगर :  भीमदत्त नगरपालिका–४ ले सामाजिक सुरक्षा र आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले वडाभित्र रहेका एकल तथा विपन्न दलित समुदायका १८ परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । बुधबार आयोजित कार्यक्रममा वडाध्यक्ष सुशील भट्ट ले लाभग्राही परिवारलाई स्वास्थ्य बिमा कार्ड वितरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले स्वास्थ्य बिमा कार्यक्रमले विपन्न परिवारलाई उपचार खर्चको भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यकताका आधारमा यस्ता सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिइने बताए । स्वास्थ्य बिमामा आबद्ध भएपछि लाभग्राही परिवारले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सूचीकृत स्वास्थ्य संस्थाबाट तोकिएको सुविधाअनुसार उपचार सेवा लिन सक्नेछन् ।

स्वास्थ्य बिमा कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई आकस्मिक तथा नियमित उपचार सेवामा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ । वडाले सामाजिक न्याय, समावेशिता र नागरिकको स्वास्थ्य अधिकारलाई प्राथमिकतामा राख्दै लक्षित वर्गका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । कार्यक्रममा लाभग्राही परिवारले वडाको पहलप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमले विपन्न समुदायलाई ठूलो राहत पुग्ने बताएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img