१२ दिनमै ४४ जनालाई सर्पदंश, महाकाली अस्पतालले जोगायो सबैको ज्यान


हेमा भट्ट / कञ्चनपुर : वर्षायाम सुरु भएसँगै कञ्चनपुरसहित सुदूरपश्चिममा सर्पदंशका घटना तीव्र रूपमा बढेका छन्। पछिल्लो करिब १२ दिनको अवधिमा मात्रै महाकाली प्रादेशिक अस्पतालमा सर्पले टोकेका ४४ जना बिरामीको उपचार गरिएको छ। तीमध्ये धेरैजसो गम्भीर अवस्थामा आईसीयूमा भर्ना भए पनि समयमै उपचार पाएपछि अधिकांश सकुशल घर फर्किएका छन्। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद पन्तका अनुसार केही बिरामी सामान्य अवस्थामा अस्पताल पुगेका थिए भने धेरैजना विषालु सर्पको टोकाइका कारण जटिल अवस्थामा आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो। चिकित्सकहरूको सक्रियता र समयमै गरिएको उपचारका कारण अधिकांश बिरामीको ज्यान जोगिएको उनले बताए।

अस्पतालका अनुसार भीमदत्त-१८ का २५ वर्षीय सुरेश दमाई राति सुतिरहेको अवस्थामा सर्पले टोके पनि सुरुमा थाहा पाएनन्। पछि लक्षण देखिएपछि आईसीयूमा राखेर उपचार गरिएको थियो। यस्तै भीमदत्त-६ का १६ वर्षीय मिर्जुम माली, दोधारा चाँदनी-७ की पूर्णिमाकला बोहरा, डडेल्धुराकी हरिनादेवी बोहरा, आलितालका पूर्णबहादुर थापामगर, कृष्णपुर-१ की सीता बुढा, भीमदत्त-४ का प्रदीप ताम्राकार, बेतकोटका रतनसिंह भण्डारीलगायत धेरै बिरामी उपचारपछि घर फर्किएका छन्। केही बिरामी अझै उपचाररत रहे पनि अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ। अस्पतालमा पुगेका कतिपय बिरामीका परिवारले सर्प नै समातेर वा मारेर ल्याएका कारण सर्पको पहिचान गर्न सहज भएको चिकित्सकहरूले बताएका छन्।

यसले उपचारको प्रक्रिया अझ प्रभावकारी बनेको अस्पतालको भनाइ छ। अध्यक्ष पन्तले सर्पदंशपछि धामीझाँक्री, फुकफाक वा मन्त्रतन्त्रमा अल्झिनु अत्यन्त जोखिमपूर्ण हुने चेतावनी दिए। उनका अनुसार एक महिला यस्ता उपचारमा समय बिताएका कारण दुई दिनसम्म जीवन–मृत्युको दोसाँधमा पुगेकी थिइन्। पछि अस्पतालमा ल्याएर उपचार गर्दा उनको ज्यान जोगिएको थियो। उनले वर्षायाममा विशेष गरी बालबालिका, किसान र राति भुइँमा सुत्ने व्यक्तिहरू बढी जोखिममा रहने भएकाले सतर्कता अपनाउन आग्रह गरे। सर्पले टोकेपछि घाउको सामान्य प्राथमिक उपचार गरी कुनै पनि ढिलाइ नगरी एन्टिभेनम उपलब्ध हुने अस्पतालमा पुर्याउनुपर्ने उनको सुझाव छ।

चिकित्सकहरूका अनुसार नेपालमा गोमन, करेत र भाइपर प्रमुख विषालु सर्प हुन्। विशेषगरी करेतले रातिको समयमा मानिस सुतेको बेला टोक्ने सम्भावना बढी हुन्छ। सर्पदंशपछि बान्ता हुने, आँखा धमिलो हुने, रिंगटा लाग्ने, बोल्न वा मुख खोल्न गाह्रो हुने, टोकेको ठाउँ सुन्निने वा निलो हुने जस्ता लक्षण देखिन सक्छन्। महाकाली प्रादेशिक अस्पतालले वर्षायाममा घर वरपरको झाडी सफा राख्न, राति टर्च प्रयोग गर्न, खेतबारीमा काम गर्दा बुट र लामो कपडा लगाउन, भुइँमा नसुत्न, सर्प देखिए समात्ने वा मार्ने प्रयास नगर्न तथा सर्पदंश भए तत्काल अस्पताल पुग्न सर्वसाधारणलाई आग्रह गरेको छ।


Loading Viewer...

ताजा समाचार

spot_img