राजेन्द्रप्रसाद पनेरु / झलारी : पुरुषको पहिरनमा सजिएका महिलाले छाता ओढेका छन् । परम्परागत थारू गीत गाउँदै सामूहिक रूपमा गाउँका सडकमा लस्करै हिँडिरहेका छन् । दुई जना महिलाले एक व्यक्तिको हात पटुकीले बाँधेर अघि बढाइरहेका छन् भने पछिपछि महिलाहरूको समूहले आफनै भाषामा पानी पार्नका लागि गीत गाइरहेका छन । यो कुनै विरोध प्रदर्शन वा सांस्कृतिक झाँकीको दृश्य होइन । लामो समयदेखि वर्षा नभएपछि इन्द्रदेवलाई खुसी पारेर पानी पार्ने विश्वासका साथ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका महिलाले पुस्तौंदेखि चल्दै आएको परम्परागत कार्यलाई निरन्तरता दिएका हुन् । लामो समयदेखि वर्षा नहुँदा खेतबारी सुक्न थालेपछि परम्पराअनुसार कलुवापुर गाउँका भलमन्सालाई प्रतीकात्मक रूपमा बाँधेर असैना गाउँ ल्याइएको हो ।

स्थानीय फुलमती रानाका अनुसार लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ प्रभावित भएको छ भने कतिपय खेतमा रोपिएको धानसमेत सुक्न थालेको छ । “धेरै दिनदेखि पानी परेको छैन,” उहाँले भन्नुभयो, “खेतमा धान रोप्नै पाएका छैनौँ, कतै रोपिएको धान पनि सुक्न थालेको छ ,त्यसैले इन्द्रदेवसँग वर्षाको कामना गर्दै पुर्खाले चलाउँदै आएको यो परम्परा निभाइरहेका छौँ ।” उहाँका अनुसार भलमन्सालाई गाउँमा ल्याएपछि गाउँका भर्रा लगायतले तान्त्रिक विधिअनुसार माटोको घैंटोमा पानी राखेर फुटाउने अनुष्ठान गरिन्छ । यसो गर्दा वर्षा हुने परम्परागत मान्यता रहेको उहाँले बताउनुभयो । स्थानीय जगता रानाका अनुसार यस परम्परामा एक गाउँका महिलाले पुरुषको पहिरन लगाएर परम्परागत गीत गाउँदै अर्को गाउँ पुग्छन् र त्यहाँका पधना वा भलमन्सालाई प्रतीकात्मक रूपमा आफ्नो गाउँ ल्याउँछन् । त्यसपछि अर्को गाउँका महिलासमेत गीत गाउँदै उनीहरूलाई छुटाउन आउँछन् । दुवै गाउँका महिलाबीच दोहोरी गीत गाइन्छ र अन्त्यमा गीतमा विजयी भएपछि पधना तथा भलमन्सालाई सम्मानपूर्वक गाउँ फर्काइन्छ ।

उहाँका अनुसार परम्परागत विधिअनुसार वर्षाको कामना गर्दा इन्द्रदेव प्रसन्न भई वर्षा हुने जनविश्वास अहिले पनि समुदायमा कायम छ ।
राना थारू समुदायमा वर्षाको कामनासँग सम्बन्धित अन्य रोचक परम्परासमेत प्रचलित छन् । महिलाले गोरु र हलि बनेर खेत जोत्ने, युवाले हिलोमा लोटपोट गर्दै भ्यागुताको आवाज निकाल्ने (गोङ्गा खेल्ने) तथा भ्यागुताको विवाह गराउने चलन पनि रहिआएको छ । यी सबै परम्पराको मुख्य उद्देश्य पर्याप्त वर्षा भई राम्रो उत्पादन होस् भन्ने कामना गर्नु हो । स्थानीय राना थारू अग्रजका अनुसार पहिले असार महिनामा अधिकांश राना थारू बस्तीमा समयमै वर्षा नभए यस्ता परम्परा नियमित रूपमा मनाइन्थे । तर शिक्षा, शहरीकरण, आधुनिक जीवनशैली र सामाजिक परिवर्तनसँगै अहिले केही सीमित बस्तीमा मात्र यी परम्परा जीवित छन् । यस वर्ष असारको दोस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा कञ्चनपुरका अधिकांश किसान धान रोपाइँ गर्न सकेका छैनन् । रोपिएका खेतमा चिरा पर्न थालेका छन् भने बस्तीमा खानेपानीको अभावसमेत बढ्दै गएको छ ।











