कञ्चनपुर : श्रमिकका अधिकार सुनिश्चित गर्दै बाध्यकारी तथा बाँधा श्रम अन्त्यका लागि स्थानीय स्तरमै सचेतना र क्षमता विकास आवश्यक रहेकोमा जोड दिइएको छ । यही उद्देश्यका साथ शुक्लाफाँटा नगरपालिकामा दुईदिने पालिकास्तरीय क्षमता विकास तालिम सम्पन्न भएको छ । राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा सञ्चालित तालिममा नगरपालिकाका १२ वटै वडाका ४० भन्दा बढी महिला तथा पुरुष श्रमिकको सहभागिता रहेको थियो ।

तालिममा परियोजना संयोजक हरिसिंह बोहरा र स्रोत व्यक्ति तथा अधिवक्ता चक्रबहादुर आग्रीले सहजीकरण गर्नुभएको थियो। सहभागीलाई संविधानमा व्यवस्था गरिएका श्रमिक अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, श्रम ऐन तथा श्रमिकले भोगिरहेका समस्या र समाधानका उपायबारे जानकारी गराइएको थियो । त्यसैगरी बाध्यकारी श्रम र बाँधा श्रमको अवधारणा, त्यसका कारण, नेपालमा रहेको कानुनी व्यवस्था, न्यूनतम ज्याला तथा पारिश्रमिक निर्धारण, मर्यादित श्रम अभियान र श्रमिकको सामाजिक सुरक्षाका विषयमा समेत छलफल गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय मुक्त हलिया महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष शिवी लुहारले श्रमिकको अधिकार कागजमा मात्र सीमित नभई व्यवहारमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । “अझै पनि धेरै श्रमिक न्यून ज्याला, असुरक्षित कार्य वातावरण र विभिन्न प्रकारका श्रम शोषणको समस्याबाट प्रभावित छन्,” उहाँले भन्नुभयो, “श्रमिक आफैं सचेत र संगठित हुन सके मात्रै आफ्ना अधिकारको प्रभावकारी संरक्षण गर्न सकिन्छ ।”
उहाँले श्रमलाई सम्मानित र मर्यादित बनाउन स्थानीय तह, सरोकारवाला निकाय र श्रमिक संगठनबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । बाध्यकारी श्रम, विभेद र शोषणमुक्त समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।

तालिममा सहभागीहरूले श्रमसम्बन्धी कानुनी व्यवस्था, न्यूनतम ज्याला, सामाजिक सुरक्षा तथा अधिकार संरक्षणका विषयमा उपयोगी जानकारी प्राप्त भएको बताएका छन् । उनीहरूले तालिमबाट प्राप्त ज्ञानलाई समुदायस्तरमा पु¥याएर श्रमिक सचेतना अभिवृद्धिमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोजकका अनुसार यस्ता कार्यक्रमले श्रमिकलाई आफ्नो अधिकारबारे जानकारी गराउनुका साथै श्रम शोषण र बाध्यकारी श्रमविरुद्ध आवाज उठाउन सक्षम बनाउने विश्वास गरिएको छ ।






