जलवायु संकट विरुद्ध युवाको साझा सङ्कल्प


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका छन् । जलवायु संकट अब भविष्यको मात्र नभई वर्तमानकै प्रमुख चुनौती बनेको निष्कर्षसहित शुक्लाफाँटा नगरपालिकामा सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले वातावरण संरक्षणलाई व्यवहारिक कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा निड्स नेपालको व्यवस्थापनमा आयोजित पालिकास्तरीय युवा सम्मेलनमार्फत युवाहरुले जलवायु संकटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन । विश्व वातावरण दिवसको अवसरमा आयोजित सम्मेलनका सहभागीले जलवायु सङ्कट वर्तमानको सबैभन्दा ठुलो चुनौती बनिसकेकाले यसलाई रोक्न युवा शक्ति नै अघि सर्नुपर्नेमा जोड दिएका छन् ।” सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु संकट अब भविष्यको होइन, वर्तमानको चुनौती बनेको भन्दै वातावरण संरक्षणमा युवाको नेतृत्व र सक्रिय सहभागिताको आवश्यकता औँल्याएका छन् ।

सम्मेलनमा नगरपालिकाका १२ वटै वडाका ७० जना युवासहित जनप्रतिनिधि, वातावरणविद्, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नगर प्रमुख रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकायको जिम्मेवारी नभई समुदाय र विशेषगरी युवाहरूको साझा दायित्व भएको बताउनुभयो । युवाहरूले सकारात्मक सोच, सामाजिक नेतृत्व र स्वयंसेवामार्फत वातावरणीय अभियानलाई जनस्तरसम्म पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो। सम्मेलनमा नगर उपप्रमुख कल्पना पन्तले जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप बदलिँदै गएको, अत्यधिक गर्मी बढ्दै गएको तथा चुरे क्षेत्रको क्षयीकरणले वातावरणीय सन्तुलनमा गम्भीर असर पारिरहेको बताउनुभयो । प्राकृतिक स्रोत संरक्षण र वातावरणमैत्री जीवनशैली अपनाउन नसके भविष्यमा पानी, कृषि उत्पादन र जैविक विविधतामा थप संकट उत्पन्न हुन सक्ने उहाँको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले विश्व वातावरण दिवसको सान्दर्भिकता, स्थानीय तहमा देखिएका वातावरणीय चुनौती तथा युवा जनशक्तिको भूमिकाबारे चर्चा गर्नुभयो ।

वातावरणीय असन्तुलनले मानव स्वास्थ्यमा समेत असर पारिरहेको उल्लेख गर्दै उहाँले स्वस्थ जीवनशैली, योग, मानसिक स्वास्थ्य र प्रकृतिसँगको सम्बन्धलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले युवाको सहभागिता, नेतृत्व विकास र बढ्दो युवा पलायनका चुनौतीबारे धारणा राख्दै स्थानीय विकास, वातावरण संरक्षण र सामाजिक रूपान्तरणका क्षेत्रमा युवाहरूलाई अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो । वातावरणविद् केशवराज पन्तले जलवायु परिवर्तनका कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभयो । वन, जलस्रोत र वन्यजन्तुको संरक्षणलाई जलवायु संकट समाधानको महत्वपूर्ण आधारका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो। यस्तै, सरस्वती पुरी बमले प्लास्टिकजन्य प्रदूषण वातावरणका लागि प्रमुख चुनौती बनेको बताउँदै यसको प्रयोग न्यूनीकरण, फोहरको उचित व्यवस्थापन र समुदायस्तरीय सरसफाइ अभियानमा युवाको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सम्मेलनमा युवा अभियन्ता दुर्गा वडुवाल र विष्णुदत्त अवस्थीले युवा नेतृत्व, सहभागिता र सामाजिक जिम्मेवारीका विषयमा सहजीकरण गर्नुभएको थियो । सहभागी युवाहरूले वातावरण संरक्षण, सरसफाइ, जलवायु परिवर्तन न्यूनीकरण तथा समुदायस्तरमा सञ्चालन गर्न सकिने अभियानबारे समूहगत छलफलसमेत गरेका थिए । सम्मेलनको अन्त्यमा सहभागी युवाहरूले वातावरण संरक्षणलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् । युवाहरुले वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरणमैत्री विकल्पलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै, आफ्नो घर, विद्यालय, कार्यस्थल तथा समुदायलाई सफा, स्वच्छ र स्वस्थ राख्न नियमित सरसफाइ अभियानमा सहभागी हुने, फोहोरलाई स्रोतमै वर्गीकरण गरी पुनःप्रयोग, पुनर्चक्रण (रिसाइकल) तथा उचित व्यवस्थापनलाई प्रवद्र्धन गर्ने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।

युवाहरूले वातावरण संरक्षण, सरसफाइ तथा जलवायु अनुकूलनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि समुदायमा सक्रिय रूपमा सूचना र सन्देश प्रवाह गर्ने, वृक्षारोपण, हरियाली प्रवद्र्धन तथा जैविक विविधता संरक्षणका कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता पनि जनाएका छन् । त्यसैगरी, मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई प्रवद्र्धन गर्दै वातावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याउने, स्थानीय सरकार, विद्यालय, सामुदायिक संस्था तथा अन्य सरोकारवालासँग सहकार्य गरी वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने युवाहरु द्धारा जारी सामुहिक प्रतिवद्धतामा उल्लेख छ । युवाहरूले वातावरण संरक्षणलाई व्यक्तिगत तथा सामाजिक जिम्मेवारीको रूपमा ग्रहण गर्दै आगामी पुस्ताका लागि स्वच्छ वातावरण निर्माणमा योगदान पु¥याउने र सामाजिक कुरीति, कुसंस्कार तथा लागू पदार्थ दुव्र्यसनजस्ता विकृतिविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने समेत प्रतिबद्धता जनाएका छन् । युवाहरूले वातावरण संरक्षण, प्लास्टिक प्रदूषण न्यूनीकरण, फोहरको वर्गीकरण र पुनर्चक्रण, वृक्षारोपण, जैविक विविधता संरक्षण, मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन तथा लागू पदार्थ दुव्र्यसन र सामाजिक कुरीतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनले सन्तोष धामीको संयोजकत्वमा ११ सदस्यीय ‘जलवायु उत्थानशील युवा मञ्च’ तदर्थ समिति गठन गरेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img