महेन्द्रनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन भोलि (जेठ २४ गते) महेन्द्रनगरस्थित सिटी हलमा आयोजना हुने भएको छ। अधिवेशनमार्फत जिल्लाको नयाँ नेतृत्व चयन गरिनेछ। अधिवेशनको तयारीबारे जानकारी दिन शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टले सबै तयारी अन्तिम चरणमा पुगेको बताए। उनले अधिवेशनमा जिल्लाभरबाट करिब ५ सय प्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिए। जिल्ला सभापति विष्टका अनुसार वडा तहदेखि पालिका तहसम्मबाट आएका प्रतिनिधिहरूले अधिवेशन मार्फत २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछन्।

अधिवेशनले आगामी कार्यकालका लागि पार्टीको जिल्ला नेतृत्व तय गर्नुका साथै संगठन सुदृढीकरण, पार्टी विस्तार तथा भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यक्रम रहेको छ। अधिवेशनको प्रमुख अतिथिका रूपमा रास्वपा केन्द्रीय सचिवालय सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिपक बोहरा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ। पार्टीका अनुसार अधिवेशनलाई कञ्चनपुरमा रास्वपाको संगठनात्मक सुदृढीकरण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। प्रतिनिधिहरूको सहभागितामार्फत लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने भएकाले अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

कार्यक्रममा कञ्चनपुर १ का सांसद जनक सिंह धामी लगायत जिल्लाका पार्टी नेता तथा कार्यकर्ताहरूकाे र विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरूकाे सहभागिता रहेकाे थियाे । पत्रकार सम्मेलनमा पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरूले अधिवेशन सफल बनाउन आवश्यक सम्पूर्ण व्यवस्थापन पूरा भइसकेको जानकारी दिएका थिए। अधिवेशनमा जिल्लाका विभिन्न पालिका र वडाबाट प्रतिनिधिहरू सहभागी हुनेछन्।







