आफ्नो क्षेत्रका जनताका गुनासा सुन्न सचिवालय सञ्चालन


महेन्द्रनगर: प्रतिनिधिसभा सदस्य (सांसद) ज्ञानेन्द्रसिंह महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय सञ्चालनमा ल्याएका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट निर्वाचित सांसद महताले क्षेत्रका जनताका समस्या गुनासा सुन्दै समाधान गर्नका लागि सचिवालय सञ्चालनमा ल्याएका हुन् ।शुक्रबारदेखि भीमदत्त नगरपालिका– १८, जानकी टोलमा सचिवालय सञ्चालनमा ल्याएका छन्।

सांसद महताले क्षेत्रका जनताका समस्या, गुनासा सुन्दै सम्बन्धित निकायमार्फत समाधानका लागि सचिवालय नै सञ्चालनमा ल्याएको बताए। महताले चुनावका वेला जनतासँग गरेका वाचाअनुरूप कामकाज गर्नका लागि समेत सचिवालयमार्फत आएका गुनासा, समस्या सम्बन्धित निकायमार्फत टुंग्याउने बताए। ‘सचिवालयमा लिखित, मौखिक समस्या संकलन गरिनेछन्,’ महताले भने, ‘सोहीअनुरूप सचिवालयमार्फत आफूले पनि समस्या समाधानमा पहल गर्छु ।’

सचिवालयमा उपस्थिति हुन नसक्ने नागरिकहरूका लागि टोल फ्री नम्बर १८१०५००२६० नम्बरसमेत सार्वजनिक गरिएको छ। ‘विभिन्न सरकारी कामकाजका लागि आउने पैसा नहुने तिर्न नसक्ने सेवाग्राहीका लागि हामीले निःशुल्क फोटोकपीको समेत व्यवस्था गरेका छौँ,’ उनले भने, ‘नागरिककै सेवाका लागि खोलिएको सचिवालय निरन्तर जनताको सेवामा खटिनेछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद महताले बेदकोट, भीमदत्त, दोधाराचाँदनीका ३० वटै वडाहरूको एकीकृत दिगो विकास समृद्धिका लागि अहोरात्र खटिने प्रण गरेका छन् । सांसद महताले वास्तविक सुकुमवासीको समस्या समाधानका लागि सरकारले पहल गर्ने विश्वास दिलाएका छन् । उनले विपक्षी दलले सुकुमवासी बस्तीमा गएर रास्वपा सरकारविरुद्ध अफवाह फैलाएको गुनासो पोखेका छन् ।


ताजा समाचार

spot_img