काठमाडौँ : काठमाडौँस्थित क्लब प्लाटिनुममा शनिबार “एम्पुटी रनवे नेपाल २०२६” को दोस्रो संस्करण भव्य रूपमा आयोजना हुने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै, निर्मला फाउन्डेसनले चैत्र २८ गते (शनिबार) कार्यक्रम सञ्चालन गर्ने जनाएको हो। कार्यक्रममा अपाङ्गता भएका पुरुष तथा महिलाहरूले कृत्रिम हात–खुट्टाको सहायताले र्याम्पमा आत्मविश्वासका साथ हिँड्नेछन्।
फाउन्डेसनकी अध्यक्ष निर्मला भण्डारीका अनुसार, कार्यक्रममा एम्पुटी फुटबल खेलाडीहरूको पनि उत्साहजनक सहभागिता रहनेछ।
उनले अप्रिल महिनालाई ‘अंग हानि तथा अङ्ग भिन्नता जागरूकता महिना’ का रूपमा मनाइने सन्दर्भमा कार्यक्रम आयोजना गरिएको बताउँदै यसले सहभागीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति दृष्टिकोण परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। कार्यक्रमले आत्मविश्वास, समानता र प्रेरणाको सशक्त सन्देश प्रवाह गर्ने आयोजकको अपेक्षा रहेको छ।








