कञ्चनपुर : ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को आयोजनामा बुधबार ‘बाल विवाहमुक्त नेपाल अभियान २०८२’ अन्तर्गत धार्मिक गुरुहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ। जेआरसीसँगको साझेदारीमा वेदकोट नगरपालिका वडा नम्बर -७ को सभाहलमा आयोजित उक्त कार्यक्रममा बाल विवाह न्यूनीकरणका लागि सामूहिक प्रतिज्ञा समेत गरिएको छ।

वेदकोट नगरपालिका वडा नम्बर -७ का कार्यवाहक वडा अध्यक्ष सुवास मल्लको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समाजमा धार्मिक गुरुहरूको प्रभावकारी भूमिका रहने भएकाले बाल विवाह जस्ता सामाजिक कुरीति अन्त्य गर्न उनीहरूको सहभागिता महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। बेस संस्थाका अनुसार, बाल विवाहमुक्त नेपाल बनाउने लक्ष्य प्राप्तिका लागि स्थानीय तह र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा यस्ता अभियानहरूलाई निरन्तरता दिइनेछ।

बेसले बालविवाह न्यूनीकरणका लागि कञ्चनपुरमा भित्ते लेखन, वक्तृत्वकला प्रतियोगिता लगायतका विभन्न करुरहरु समेत सञ्चलान गर्दै आइरहेको छ। त्यस्तै कञ्चनपुर जिल्लाको आठवटा पालिकाको १६ वटा विद्यालयहरूका ५००० विद्यार्थीहरू लगायत शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, अभिभावक लगायतको उपस्थितिमा समेत बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ।







