पशुपति आधारभूत विद्यालयमा बालविवाह विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कञ्चनपुर : वेदकोट नगरपालिका–७ बसन्तपुरस्थित श्री पशुपति आधारभूत विद्यालयमा सोमबार बालविवाह सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ब्याकवर्ड सोसाइटी एजुकेसन (बेस) द्वारा सञ्चालित ‘बालबालिकाको न्यायमा पहुँच’ परियोजना अन्तर्गत जेआरसीको साझेदारीमा उक्त कार्यक्रम आयोजना गरिएको हो। विद्यालयका प्रधानाध्यापक सुशीला बोहराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अधिवक्ता जगबहादुर चौधरी र बेसका जिल्ला सदस्य हिक्मत चौधरीको विशेष आतिथ्यता रहेको थियो।

समाजमा व्याप्त बालविवाह जस्तो कुरीतिविरुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा ६ जना विद्यार्थीहरूले प्रतिस्पर्धात्मक प्रस्तुति दिएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्ये विमला पाण्डे प्रथम, अविनाश महता द्वितीय र सुनिल सार्की तृतीय हुन सफल भएका छन्। कार्यक्रममा विद्यालयका ७९ जना छात्र र ८७ जना छात्रा गरी कुल १६६ जना विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका अतिथिहरूले बालविवाहले बालबालिकाको भविष्य र स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे चर्चा गर्दै न्यायमा बालबालिकाको पहुँच सुनिश्चित गर्न यस्ता चेतनामूलक कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। बेसले कञ्चनपुर जिल्लाको आठवटा पालिकाको १६ वटा विद्यालयहरूका ५००० विद्यार्थीहरू लगायत शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, अभिभावक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको छ।

ताजा समाचार

spot_img