कञ्चनपुर : वेदकोट नगरपालिका–५ धरमपुर निवासी २८ वर्षीया जयन्ती सार्की केही समय अघिसम्म आफ्ना श्रीमान र पाँच वर्षका छोरा सहित सानो, सुखी परिवारमा हाँसी–खुशी जीवन बिताइरहेकी थिइन्। श्रीमान अमरबहादुर सार्की भारतमा मजदुरी गरेर जसो–तसो परिवारको गुजारा चलाउँदै आएका थिए।

तर, अचानक जयन्ती बिरामी परेपछि गरिएको स्वास्थ्य परीक्षणमा उनका दुवै मृगौला फेल भएको रिपोर्ट आए सँगै परिवारमा दुःखको पहाड खसेको छ। घरमा बृद्ध आमाबुबा, सानो छोरा र गम्भीर बिरामी श्रीमतीको जिम्मेवारी बोकेका अमरबहादुर अहिले अत्यन्तै पीडामा छन्।

यही जेठ महिनामा दुवै मृगौला खराब भएको पुष्टि भएपछि उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पताल धाउँदा–धाउँदै परिवारसँग भएको सबै जम्मा पूँजी सकिएको छ। आर्थिक अवस्था कमजोर भएकै कारण थप उपचार खर्च जुटाउन नसक्दा अमरबहादुर बाध्य भएर बिरामी श्रीमतीलाई बृद्ध आमाबुबाको जिम्मा लगाई पुनः भारत मजदुरी गर्न गएका छन्।

हाल जयन्तीको जीवन रक्षा गर्न नियमित उपचार तथा मृगौला प्रत्यारोपण अत्यावश्यक रहेको तर त्यसका लागि ठूलो रकम आवश्यक परेकाले सार्की परिवारले देश–विदेशमा रहेका दानीमन, संघ–संस्था तथा सहयोगी मनहरूसँग आर्थिक सहयोगको हार्दिक अपिल गरेका छन्।
सहयोग गर्नको लागि विवरण
खातावालकोनाम : जयन्ती कुमारी सार्की,
बैंक : एनआईसी एशिया बैंक,
शाखा : वेदकोट ,
खाता नम्बर : १८५५७५३४७४५३३००१






