कञ्चनपुरमा गर्भपतन गराउने बढ्दै


कञ्चनपुर : कञ्चनपुरमा पाँच महिनाको अवधिमा हजार बढी महिला तथा किशोरीले गर्भपतन गरेका छन । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म एक हजार १८ महिला तथा किशोरीले गर्भपतन सेवा लिएका छन्। जिल्ला स्थित सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा २० वर्षमुनिका ३० जना र २० वर्ष वा सोभन्दा माथिका ९८८ महिलाले गर्भपतन गराएका हुन्।

महाकाली प्रादेशिक अस्पताल, परिवार नियोजन सङ्घ, दोधारा चाँदनी अस्पताल, कृष्णपुर स्वास्थ्य चौकीसहित २३ स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिएको हो। यही अवधिमा दुई हजार ९७२ महिलाले गर्भावस्थाको परीक्षण गराएकामा दुई हजार ४७२ महिलाले शिशु जन्माएका छन् भने पाँच सय महिला तथा किशोरीले गर्भ जाँच नगरी गर्भपतन गराएको पाइएको छ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार साउनदेखि मङ्सिरसम्म गर्भपतन गराउनेको सङ्ख्या निरन्तर बढ्दो छ। साउन महिनामा मात्रै २१७ जनाले गर्भपतन गराएका थिए भने भदौमा ८७, असोजमा १५७, कात्तिकमा २०२ र मङ्सिरमा २३५ महिला तथा किशोरीले गर्भपतन गराएका छन्। अधिकांशले औषधी सेवनबाट गर्भपतन गराएका भए पनि केहीले शल्यक्रिया विधि अपनाएका छन्।

स्वास्थ्यकर्मीहरूले गर्भपतन अधिकार भए पनि २० वर्षभन्दा कम उमेरमै विवाह र गर्भधारण गर्दा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र सिंह रावलले बढ्दो बालविवाह, कम उमेरमै गर्भ रहने र त्यसबाट उत्पन्न हुने स्वास्थ्य जटिलता न्यूनीकरणका लागि अभिभावक र सरोकारवालाको सचेतना आवश्यक रहेको बताउनुभयो। यसैविच जिल्लामा गर्भपतनको बढ्दो तथ्याङ्कसँगै नवजात शिशु मृत्युदर पनि चिन्ताजनक देखिएको छ। गत आर्थिक वर्षमा जिल्लामा ४८ नवजात शिशुको मृत्यु भएको छ। जसमध्ये आठ मरेका शिशु जन्मिएका थिए, २६ शिशुको जन्मनेबित्तिकै मृत्यु भएको थियो भने १४ शिशुको जन्मेको २८ दिनभित्र मृत्यु भएको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी भीमदत्त नगरपालिकामा २० शिशुको जन्मनेबित्तिकै मृत्यु भएको छ।


ताजा समाचार

spot_img