बेलौरी–कलकत्तामा माईती नेपालको बाल संरक्षण तथा मानव बेचबिखन विरुद्ध अनुशिक्षण

मंगल जोशी / बेलौरी : माईती नेपाल कञ्चनपुरले बाल संरक्षण, अनलाइन बाल यौन दुर्व्यवहार, प्रजनन स्वास्थ्य तथा अधिकार, र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी विषयमा बेलौरी–कलकत्तास्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनुशिक्षण प्रदान गरेको छ। कञ्चनपुर जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्र बेलौरी–कलकत्ता मानव बेचबिखनको उच्च जोखिममा रहेकाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कक्षा ११ र १२ मा अध्ययनरत ९१ जना विद्यार्थी तथा शिक्षक–शिक्षिकालाई अनुशिक्षण दिइएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो।

उहाँका अनुसार, “यस क्षेत्रबाट मानव बेचबिखन र बाल यौन शोषणका घटनाहरू क्रमशः बढ्दै गएको सूचनाका आधारमा बेल्डाँडीदेखि बेलौरीसम्मका नागरिकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो।” अनुशिक्षणमा सहभागी विद्यार्थीहरूले प्रस्तुत विषयवस्तु आफूहरूका लागि नयाँ र उपयोगी रहेको बताउँदै धेरै कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले आ–आफ्ना क्षेत्रमा मानव बेचबिखन नियन्त्रण, बाल यौन शोषण तथा अनलाइन यौन शोषणविरुद्ध आफू सचेत रहने र अरूलाई पनि सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकराज अवस्थीले शिक्षक स्टाफ परिवारसहित अनुशिक्षण प्रदान गरेकोमा माईती नेपालप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि माईती नेपालसँग समन्वय र सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभयो।

ताजा समाचार

spot_img