झलारी : शुक्लाफाँटा नगरपालिकामा ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ को समीक्षा तथा आगामी योजना तर्जुमा बैठक सम्पन्न भएको छ । प्राक्टिकल एक्सनको सहयोगमा पेसवान द्वारा सञ्चालित सो परियोजनाको सल्लाहकार समिति बैठकले सन् २०२५ को प्रगति समीक्षा गर्दै सन् २०२६ का लागि प्राथमिकताहरू तय गरेको छ । बैठकमा प्रस्तुत प्रतिवेदन प्रस्तुत गर्नु हुदै कार्यक्रमका अधिकृत दिल बहादुर ढाँटले सन् २०२५ मा बाढी र तातो हावा (लू) को जोखिम न्यूनिकरणका लागि २८ लाख ९५ हजार ४९० रुपैयाँ बराबरका क्रियाकलाप सम्पन्न भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार जसमा जैविक तटबन्ध निर्माण, सुरक्षित आश्रयस्थल मर्मत र पूर्वसूचना प्रणाली सुदृढीकरण जस्ता कार्यलाई प्राथमिकता दिइएको थियो । परियोजनाले समुदायको उत्थानशीलता मापन गर्न ’चार आर’ (दरिलोपना, अतिरिक्तता, शीघ्रता र स्रोत–साधन सम्पन्नता) को सिद्धान्त अपनाउँदै आएको छ । सन् २०२६ का लागि बैठकले विपद् बीमा, प्रकृतिमा आधारित समाधान र जोखिम स्थानान्तरण जस्ता नवीन योजनाहरू पारित गरेको छ । आगामी वर्षमा स्थानीय सरकारसँगको समन्वयमा नीति निर्माण, विद्यालय सचेतना र जीविकोपार्जन विविधीकरणका कार्यक्रमलाई तीव्रता दिइने पेसवानले जनाएको छ ।

बैठकमा बोल्दै नगर प्रमुख रण बहादुर महराले कार्यक्रम प्रभावकारी भएकाले नगरपालिकाका अन्य वडाहरु विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जैविक तटबन्धका माध्यमबाट भू क्षय हुनबाट जग्गा जोगाउने र लक्षित वर्गहरुको आयआर्जनमा टेवा पुरयाउन कार्यक्रमको प्रभावकारीता देखिएको बताउनु भयो । आगामी कार्यक्रमममा बजेटको सीमा बढाएर एक करोड पुरयाई जलवायू परिवर्तनको असर भोग्दै आएका बासिन्दा लाभान्वीतहुने गरी कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । बैठकमा नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य सरोकालवाला शाखाका प्रमुखहरु, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो । शुक्लाफाँटा संगै कञ्चनपुरका भीमदत्त, बेलौरी, पुनर्वास र लालझाडीका जोखिमयुक्त समुदायलाई जलवायु परिवर्तनका असरसँग जुध्बन सक्षम बनाउने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।







