झलारीमा हुने एकता सन्देश सभाको तयारी सम्पन्न सभालाई सम्बोधन गर्न झलारीलाई आउँदै डा. भिम रावल

झलारी : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरले भोली पौष ७ गते सोमबार शुक्लाफाँटा नगरपालिका–झलारीको खुला मञ्चमा आयोजना हुने जिल्ला एकता सन्देश सभाको सम्पूर्ण तयारी सम्पन्न भएको छ । कार्यक्रमस्थल सरसफाइ, मञ्च सजावट तथा व्यवस्थापनका सबै काम पूरा भइसकेको पार्टीले जनाएको छ ।

नेकपा नेता तथा शुक्लाफाँटा नगरपालिका वडा नं। ३ का अध्यक्ष नरेन्द्र चौधरीका अनुसार भोली हुने एकता सन्देश सभालाई व्यवस्थित र भव्य बनाउन आइतबार झलारीको खुला मञ्चमा व्यापक सरसफाइ गरिएको छ । मञ्च सजावट, बसाइ व्यवस्थापन, कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वतयारी तथा अन्य व्यवस्थापनका कामहरू पनि सम्पन्न भइसकेका छन् । उनका अनुसार जिल्ला एकता सन्देश सभामा कञ्चनपुरका सबै पालिकाबाट ठूलो संख्यामा पार्टी नेता–कार्यकर्ता, समर्थक तथा पार्टी प्रवेश गर्नेहरूको सहभागिता रहनेछ । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी तथा स्थानीय नेताहरूको पनि सहभागिता रहने बताइएको छ ।

युवा परिचालन उपसमितिका संयोजक नवराज ऐरले भोलीको सभामा १० हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको जानकारी दिए । उनका अनुसार सहभागितालाई व्यवस्थित बनाउन परिचालन, स्वयंसेवक, यातायात र स्वागत व्यवस्थापनका सबै पक्ष तयारी अवस्थामा छन् । जिल्ला एकता सन्देश सभा मूल परिचालन समिति कञ्चनपुरका संयोजक लोकेन्द्र लम्सालका अनुसार केन्द्र र प्रदेशस्तरमा सम्पन्न एकता सन्देश सभाको निरन्तरतास्वरूप जिल्लास्तरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । सुप प्रदेशका पहाडी जिल्लामा कार्यक्रम सम्पन्न भइसकेको र त्यसैको क्रमलाई कञ्चनपुरबाट अगाडि बढाइँदैछ ।

नेकपा कञ्चनपुर जिल्ला एकता सभा सह–संयोजक प्रकाश रावलले सभालाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने बताए । सभामा पूर्व उपप्रधान तथा गृहमन्त्री डा। भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी र खगराज भट्टलगायतका केन्द्रीय नेताहरूको उपस्थिति रहनेछ । देशको वर्तमान जटिल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र एकताको सन्देश जनतासमक्ष पुर्‍याउने उद्देश्यले जिल्ला एकता सन्देश सभा आयोजना गर्न लागिएको नेकपाले जनाएको छ । भोली पौष ७ गते सोमबार झलारीको खुला मञ्चमा हुने सभाका लागि सबै तयारी पूरा भइसकेको पार्टीको दाबी छ ।

ताजा समाचार

spot_img