कैलाली: यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको मानव अधिकारको अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसको कार्यान्वयनको अवस्थाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

आइतबार सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित धनगढीको होटल के.आई.को सभाहलमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरको आयोजनामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रतिनिधि गणेश जोशीले जानकारी दिनुभयो।

कार्यक्रममा नेपालको संविधानले सुनिश्चित गरेका हकअधिकारहरू तथा नेपाल सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार सुनिश्चित गर्न हालसम्म गरेका प्रयासहरूबारे राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख उप–सचिव झंकर रावलले प्रस्तुतीकरण गर्नुभयो। उहाँले यस समुदायसँग सम्बन्धित मुद्दाहरू पूर्ण रूपमा कार्यान्वयन नभएसम्म निरन्तर समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलका क्रममा सहभागीहरूले स्थानीय सरकारले शिक्षा पाठ्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी विषय समावेश गरेमा अझ प्रभावकारी हुने सुझाव दिएका थिए। साथै, आगामी दिनमा नीति तथा कार्यक्रमहरूलाई थप परिमार्जन गर्दै समावेशी बनाउनुपर्ने माग समेत राखिएको थियो।
कार्यक्रममा सहभागीहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरू खुलेर बाहिर आउन नसक्दा बजेट तर्जुमा लगायत विभिन्न नीतिगत प्रक्रियामा समस्या आउने गरेको उल्लेख गरे। यस समुदायप्रति अझै पर्याप्त जनचेतना नहुँदा विभेद र अपहेलनाको सामना गर्नुपरेको भन्दै प्रभावकारी जनचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइयो। स्थानीय सरकारले समेत उक्त समुदायलाई पहिचान गर्न नसकेको र उपेक्षा खेप्नुपरेको गुनासो सहभागीहरूले व्यक्त गरे।
आगामी दिनमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहुँच सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार तथा सम्बन्धित निकायहरूको विशेष ध्यान जानुपर्नेमा सहभागीहरूले जोड दिनु भयो।
सरकार, समाज र परिवारसँग कहिलेसम्म अधिकारका लागि संघर्ष गर्नुपर्ने हो भन्ने विषयमा अझै अन्योल रहेको सहभागीहरूले बताएका थिए। छलफल कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूका साथै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







