कञ्चनपुर: जेनजी आन्दोलनका क्रममा आगजनी पीडित व्यवसायीहरुलाई कञ्चनपुर उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले गत २४ भदौँ जेनजी आन्दोलनका क्रममा आगलागी पाँच पीडित व्यवसायीहरुलाई आर्थिक राहत सहयोग गरेको हो । जेनजी आन्दोलनकारीले जिल्लाका तत्तकालिन सत्ताधारी काँग्रेस एमाले नेताहरुका घरमा आगजनी गर्दा केही व्यवसायीको पसलमा समेत आगजनी भएको थियो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले आगलागीपीडित पाँच व्यवसायीहरुलाई नगद २५ हजारका दरले आर्थिक राहत उपलब्ध गराएको बताए । उनका अनुसार न्यू रोयल टेलरिङ्ग ब्राण्ड, गल्सब्यूटी होम, श्रीराम होजियारी उद्योग, मेलौली होजियार उद्योग र रत्नमणी टे«डर्सलाई २५ हजारका दरले राहत सहयोग उपलब्ध गराईएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले उद्योगी, व्यवसायीहरुका घाउमा मलम लगाउने उदेश्यका साथ सक्दो राहत सहयोग गरेको बताए । अध्यक्ष जोशीले जेनजी आन्दोलनका क्रममा निजी, व्यवसायी क्षेत्रमा भएको लुटपाट, आगजनी, तोडफोडले कञ्चनपुर सहित देशकै व्यापार व्यवसायी घरासायी भएकाले अब व्यापार बृद्धि विकासका लागि सबैले चिन्ता चासो व्यक्त गर्नुपर्ने बताए । २३भदौँमा तत्तकालिन सरकार पक्षले युवा विद्यार्थीको गोली हानेर हत्या गरेको बिरोधमा २४ भदौँमा देशभर भएको जेन्जी आन्दोलनका क्रममा कञ्चनपुरमा समेत निजी, व्यवसायी, सरकारी, सार्वजनिक क्षेत्रमा लुटपाट, आगजनी, तोडफोड भएर ठुलो क्षति बेहोर्नु परेको थियो ।

यसैविच वाणिज्य सघको आउँदो १९ पुषमा १८ औँ कार्य समितिका लागि निर्वाचन हुँदैछ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले १पुषमा निर्वाचन कार्यतालिका प्रशासिक भएसंगै निर्वाचन प्रकृया शुरु भएको बताए । उनका अनुसार २१सय २१ मतदाता(व्यवसायी)ले व्यवसायिक हकहितमा काम गर्ने नेता चुन्नेछन ।





