अमरपुरस्थित दशरथ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो ट्रेकसुट वितरण

झलारी : शुक्लाफाँटा नगरपालिका–११, अमरपुरस्थित दशरथ आधारभूत विद्यालयमा आज एक विशेष समारोहका बीच विद्यार्थीहरूलाई न्यानो ट्रेकसुट वितरण गरिएको छ। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विकले गर्नु भएको थियो। समारोहका प्रमुख अतिथि वडा नं. ११ का वडा अध्यक्ष शेरबहादुर साउद रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा नगर कार्यपालिका सदस्य शान्ति ऐर उपस्थित रहनुभएको थियो। अमेरिका निवासी प्रकाश सुनारले आफ्नी छोरीको जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीलाई न्यानो ट्रेकसुट उपलब्ध गराएका हुन्।

जाडो मौसम, स्वास्थ्य सुरक्षा तथा अभिभावकहरूको आर्थिक अवस्थालाई ध्यानमा राखी गरिएको सो सहयोगलाई विद्यालयले उच्च प्रशंसा गरेको छ। यसबाहेक, सोही वडाका मानसिंह तिरुवाले विद्यालयमा सूचना–प्रविधि शिक्षालाई सबल बनाउन ६ थान कम्प्युटर प्रदान गर्नुभएको छ। साथै महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले सम्पूर्ण बालबालिकालाई स्टेसनरी सामग्री तथा विद्यालयलाई आवश्यक कार्यालय सामग्री सहयोग गरेको थियो।

सहयोग उपलब्ध गराउने व्यक्तिहरूलाई वडा अध्यक्ष साउदले प्रशंसा पत्र प्रदान गर्दै विद्यालय सञ्चालन र उन्नतिमा समुदायको हातेमालो अनिवार्य रहेको बताउनुभयो। कार्यक्रममा सहभागी समाजसेवी र सामाजिक अभियन्ता रामबहादुर चुनारा, कार्यपालिका सदस्य शान्ति ऐर, तथा समाजसेवी नन्दसिंह सुनारले विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो। विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै शिक्षा र समाज विकासका लागि प्राप्त सहयोगले थप प्रेरणा र क्षमता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

ताजा समाचार

spot_img