महेन्द्रनगर: कञ्चनपुर जिल्लामा एन्फा यु–१४ अन्तर विद्यालय स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता छनौटका लागि टिम दर्ताका लागि आज अन्तिम दिन रहेको छ।

अखिल नेपाल फुटबल संघ एन्फा को वार्षिक कार्यक्रमअन्तर्गत कञ्चनपुर जिल्ला फुटबल संघले यो प्रतियोगिताको आयोजना गर्न लागेको जिल्ला फुटबल संघ कञ्चनपुरका महासचिव नितेश रावलले बताए।

कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा कार्तिक ५ गते बसेको बैठकले प्रतियोगिता सञ्चालनका लागि संयोजक, प्रशिक्षक र सदस्य जिल्लाका पाँच वटा ठाउँको लागि जिम्मेवारी दिएको छ।

बेल्डाँडी गाउँपालिका क्षेत्रका लागि संयोजकको जिम्मेवारी धनबहादुर महता (बिकाश) सदस्यमा लोक बहादुर बलायर, प्रशिक्षक सुभाश कोलि, कृष्णपुर नगरपालिकामा संयोजक प्रजापति भट्ट, प्रशिक्षक भरत महत, सदस्य हेमन्त राना, पुनर्वास नगरपालिकामा संयोजक दाउत तामाङ, सदस्य शुक बहादुर तामाङ, प्रशिक्षक हिमाल मल्ल, दोधारा चाँदनी नगरपालिका संयोजक किरण परियार, सदस्यहरु रोहित लेखक, विशाल पुन र भीमदत्त नगरपालिका संयोजक राजप्रताव सिंह, सदस्य शंकर चन्द, प्रशिक्षकमा पुष्कर शाही लाई जिम्मेवारी दिएको संघका महासचिव रावलले बताउनु भयो।
जिल्लामा तोकिएका क्षेत्रमा टिम दर्ता गराउन सकिने छ, तर एउटै विद्यालयले दुई क्षेत्रमा टिम दर्ता गराउन भने नपाउने।यस प्रतियोगितामा सहभागी विद्यालयका टिमबाट २० जना खेलाडीहरु दर्ता गराउनु पर्ने छ ।
खेलाडीहरु सम्बन्धित विद्यालयमा यस वर्ष अध्ययनरत हुनु पर्नेछ । यस फारमको अलावा विद्यालयको आधिकारिक पत्रमा सहभागी विद्यालयको नाम, जन्म मिति, कक्षा खेल्ने गरी नामवली सहितको विवरण प्रधानध्यापकको हस्ताक्षर सहितको पत्र अनिवार्य रुपले पेश गर्नु पर्ने छ । खेलाडीको जन्म मिति २०६८ पौष १७ गते (सन् २०१२ जनवरी १ तारिख) वा सो मिति भन्दा पछिको मितिमा जन्मेको हुनु पर्ने नियमावलीमा उल्लेख छ।
फुटबल संघका अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति कार्तिक २२ गते बेलुका ५ बजेसम्म खुला रहनेछ भने दर्ता शुल्क २ हजार १ सय रूपैयाँ तोकिएको छ । पाच क्षेत्रबाट छनौट भएका विद्यालय टिमहरूबीचको प्रतिस्पर्धा महेन्द्रनगर स्थित खुलामञ्चमा हुने छ ।






