बेलडाँडी अध्यक्ष क्रिकेट प्रतियोगिताको उपाधी ४ नम्बर वडालाई

बेलडाँडी: बेलडाँडी गाँउपालिका स्तरिय अध्यक्ष क्रिकेट प्रतियोगिताको उपाधी ४नम्बर वडाको टिमलाई पाईएको छ । बेलडाँडीमा पहिलो पटक आयोजना गरिएको गाउँपालिका स्तरीय अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ को टिमले हात पारेको हो । शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. ४ ले वडा नं. ५ लाई ८ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ । टस जितेर ब्याटिङ रोजेको वडा नं. ५ ले आफ्ना सबै विकेट १४.४ ओभरमा अलआउट हुदै ५१ रनको योगफल तयार पारेको थियो । सो लक्ष्यको जवाफमा ब्याटिङमा उत्रिएको वडा नं. ४ ले सुरुवातदेखि नै सन्तुलित खेल प्रदर्शन गर्दै १२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य सजिलै पूरा गरेको थियो ।

वडा नं. ४ ले प्रतियोगिता भर एक खेल पनि नहारी अपराजित रूपमा च्याम्पियन बन्ने गौरव हासिल गरेको छ । बेलडाँडी गाउँ खेलकुद विकास समितिका अध्यक्ष डम्बर सुनारका अनुसारले गाउँपालिकामा पहिलो पटक लेदर बल प्रयोग गरी प्रतियोगिता आयोजना गरिएको बताए । गाउँपालिकाका ६ वडाबीच लिग प्रणालीमा खेल सञ्चालन गरिएको उक्त प्रतियोगितामा खेलकुद विकास र स्थानीय खेलाडीको प्रोत्साहन मुख्य उद्देश्य रहेको समितिले जनाएको छ । विजेता वडा नं. ४ ले नगद रु. २० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नं. ५ ले रु. १० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथै, प्रतियोगिताका उत्कृष्ठ विधाका खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । जनसंख्या र क्षेत्रफलका हिसाबले बेलडाँडी गाउँपालिकाको सबैभन्दा सानो वडा भए पनि वडा नं. ४ ले खेल मैदानमा ठूलो सफलता हासिल गरेको छ। अपराजित रहँदै उपाधि जितेको वडा नं. ४ को प्रदर्शनले सानो वडाका युवाहरूमा उत्साह र खेलप्रतिको लगाव थप बढाएको छ । बेलडाँडी गाउँ खेलकुद विकास समितिको आयोजनामा गत असोज ३१ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले ग्रामिण भेगमा क्रिकेट खेलकुद विकासले थप उर्जा थपिदिएको बताए ।

ताजा समाचार

spot_img