कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीस्थित महाकाली नदीमाथिको झोलुंगे पुल चुँडिएपछि केन्द्रबाट आएको प्राविधिक टोलीले शुक्रबार पुल क्षेत्रको स्थलगत अनुगमन गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग (डोलिड)को प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गरेको हो। विभागका उपमहानिर्देशक तथा इन्जिनियर कमलकुमार अधिकारी र वरिष्ठ डिभिजनल इन्जिनियर डा. हुमाकान्त मिश्रसहितको टोलीले पुलको वर्तमान अवस्था, बाढीबाट भएको क्षति तथा तत्काल गर्नुपर्ने मर्मत र पुनर्निर्माणका सम्भावनाबारे अध्ययन गरेको छ।

टोलीले पुलको भौतिक अवस्था, बाढीले पुर्याएको क्षति तथा पुल चुँडिएपछि आवतजावतमा परेको समस्याबारे स्थानीयसँग समेत जानकारी लिएको जनाएको छ। करिब अढाई दशकअघि निर्माण भएको उक्त झोलुंगे पुलको बिचभागमा असामान्य रूपमा क्षति पुगेपछि आवतजावत पूर्ण रूपमा बन्द भएको छ। ०५८ सालमा निर्माण सुरु भई ०६१ सालमा सम्पन्न भएको एक हजार ४५३ मिटर लामो उक्त झोलुंगे पुल करिब १० करोड रुपैयाँको लागतमा निर्माण भएको थियो। निर्माणका वेला यो एसियाकै दोस्रो लामो झोलुंगे पुलका रूपमा परिचित थियो।

महाकाली नदीपारिको ‘नेपाल’ भनेर चिनिने दोधाराचाँदनीलाई जिल्ला सदरमुकाम महेन्द्रनगरसहित देशका अन्य भूभागसँग छोटो दूरीमा प्रत्यक्ष जोड्ने उद्देश्यले पुल निर्माण गरिएको थियो। पुलवारि भीमदत्त नगरपालिका– १३ का वडाध्यक्ष रामचन्द्र बोहरा ‘झक्कास’ले पुल चुँडिएपछि दोधाराचाँदनीका स्थानीयलाई जिल्ला सदरमुकामलगायतका गन्तव्यमा जान घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको बताए।

उनका अनुसार पुल सञ्चालनमा रहेका वेला स्थानीयबाहेक भारत तथा तेस्रो मुलुकबाट समेत पर्यटकहरू दैनिकजसो पुल अवलोकनका लागि आउने गरेका थिए। ‘दैनिक पुल हेर्नकै लागि १०–१५ जनादेखि सयौँसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका थिए,’ उनले भने, ‘अब पुल भत्किएसँगै यहाँ पर्यटन आउने क्रम पनि प्रभावित भएको छ। सरकारले जतिसक्दो छिटो पुल पुनर्निर्माण गर्नुपर्छ।’ प्रारम्भिक अध्ययनका क्रममा नदीको पानी पुलको पिलर रहेको स्थानबाट एकत्रित भएर बगेको र पिलरको फाउन्डेसनभन्दा तलसम्म कटान हुँदा पिलर भत्किएको हुन सक्ने देखिएको प्राविधिक टोलीले जनाएको छ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख तथा इन्जिनियर पदम मडैले प्रारम्भिक अध्ययनका क्रममा महाकाली नदीको मुख्य बहाब नै उक्त पिलरबाट गएको र पिलरको जगमुनिबाट कटान भएपछि पिलर ढलेको हुन सक्ने बताए। उनका अनुसार पुलको विस्तृत अध्ययनका लागि पुलविज्ञसहितको टोलीसमेत आउनेछ। महाकाली नदीमा साढे पाँच लाख क्युसेकभन्दा बढी पानीको बहाब हुँदासमेत नढलेको पुल अहिले करिब ६० हजार क्युसेक पानीको बहाबका क्रममा भत्किएको छ। शारदा ब्यारेजको तथ्यांकअनुसार पुलको बिचभागमा पिलरसहित क्षति पुगेको दिन अर्थात् १४ असोज ०८३ मा बिहान करिब ६ बजे महाकाली नदीमा ६० हजार १७३ क्युसेक पानीको बहाब थियो।
यसअघि महाकालीमा पानीको बहाबले दुईपटक उच्च रेकर्ड कायम गर्दा पनि पुलमा क्षति पुगेको थिएन। २ कात्तिक ०७८ मा पाँच लाख ४७ हजार २२४ क्युसेक र ४ असार ०७० मा पाँच लाख ४४ हजार क्युसेक पानीको बहाब पुगेको थियो। अढाई दशकअघि निर्माण भएको पुल तुलनात्मक रूपमा कम पानीको बहाबमा भत्किएपछि स्थानीयमा विभिन्न आशंका उत्पन्न भएका छन्। महाकालीमा ठुलो बाढी नआएको अवस्थामा पुल भत्किएपछि निर्माणकै क्रममा प्राविधिक त्रुटि भएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्। स्थानीय सन्तुराम लुहारले पुल समय–समयमा मर्मतसम्भार नगरिएका कारण बिचभागबाट क्षति पुगेको हुन सक्ने बताए। उनका अनुसार करिब २५ वर्षअघि निर्माण भएको पुलको नियमित मर्मतसम्भारमा ध्यान दिन आवश्यक थियो।
दोधाराचाँदनी झोलुंगे पुल भत्किएको खबरपछि सुदूरपश्चिम प्रदेश सरकार र साे क्षेत्रका सांसद ज्ञानेन्द्र महताले समेत चासो दिएका छन्। मुख्यमन्त्री खगराज भट्टसहित मन्त्रीद्वय प्रकाश रावल र ओमविक्रम भाटले पुल क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारले पुनर्निर्माणका लागि पहल गर्ने बताएका थिए। यस्तै, साे क्षेत्रका सांसद ज्ञानेन्द्र महताले संघीय संसदमा समेत पुल भत्किएको विषय उठाएका छन्।










