जगन्नाथ आत्रेय /महेन्द्रनगर : नेपालको सामाजिक–सांस्कृतिक परिवेश र अगुवाहरूको प्रवृत्ति नेपालको सामाजिक संरचना परम्परा, धर्म, मूल्य र सामूहिक सहअस्तित्वमा आधारित समाज हो। सदियौँदेखि सहकार्य र साझेदारीको संस्कृतिले सामाजिक सम्बन्धलाई मजबुत बनाउँदै आएको थियो। तर पछिल्ला दशकहरूमा ती नैतिक मूल्यहरू क्रमशः क्षीण हुँदै गएका छन्। समाजका अगुवाहरू—राजनीतिक, धार्मिक, शैक्षिक वा सांस्कृतिक—मध्ये धेरैजसो आफ्नै सान, पद र स्वार्थमा केन्द्रित भएका छन्। सामाजिक जिम्मेवारी र वैचारिक नेतृत्वभन्दा व्यक्तिगत फाइदाको सोच बलियो बनेको छ।यही स्वार्थकेन्द्रित प्रवृत्तिले नयाँ पुस्तामा सामाजिक–सांस्कृतिक विचलन (socio–cultural deviation) को भूमि तयार गरेको देखिन्छ।

सामाजिक–सांस्कृतिक विचलनको सैद्धान्तिक आधार समाजशास्त्रीय दृष्टिले “विचलन” (Deviation) भन्नाले समाजका स्वीकृत मान्यता, मूल्य र व्यवहारविपरीत हुने क्रियाकलापलाई जनाउँछ। प्रमुख सैद्धान्तिक आधारहरू यस प्रकार छन्— एमिल डुर्खाइमको “Anomie Theory” अनुसार, समाजमा साझा मूल्य र नियम कमजोर हुँदा व्यक्तिहरू दिशाहीन बन्छन्। जब सामूहिक चेतना (collective conscience) कमजोर पर्छ, तब विचलन सामाजिक रोगको रूपमा देखा पर्छ। रॉबर्ट मर्टनको “Strain Theory” ले भन्छ— समाजले सफलता र मान्यता प्राप्त गर्ने लक्ष्य तोक्छ तर त्यसमा पुग्ने वैधानिक बाटो अवरुद्ध हुँदा मानिसले विद्रोह, अनुकूलन वा पलायनको बाटो रोज्छ। हावर्ड बेकरको “Labeling Theory” अनुसार, जब समाजले कुनै समूहलाई “विचलित” भनेर पहिचान गर्छ, त्यही लेबल स्वयं-पूर्ण भविष्यवाणी (self-fulfilling prophecy) बन्छ र तिनीहरू सचेत वा असचेत रूपमा विद्रोही भूमिका लिन थाल्छन्। नेपालमा यी सिद्धान्तहरूको मिश्रित रूप पाइन्छ — मूल्यहरूमाथि आस्था घट्नु, शिक्षाले नैतिक दृष्टि गुमाउनु र राज्य संयन्त्रले वैधानिक बाटो अवरुद्ध गर्नुले युवाहरूलाई असन्तुलित बनाएको छ।

जेन–जेड आन्दोलनमा विचलनको प्रभाव जेन–जेड पुस्ता (सन् १९९७–२०१२ मा जन्मिएका) डिजिटल युगका नागरिक हुन्। उनीहरू विश्वव्यापी सूचनाको पहुँचमा छन्, तर त्यसले तिनका सामाजिक मूल्य र पहिचानमा नयाँ द्वन्द्व सिर्जना गरेको छ। यो पुस्ता— स्वतन्त्रता, समानता र पहिचानका पक्षमा दृढ छ, तर परम्परागत मूल्य र अनुशासनप्रति उदासीन छ, राष्ट्र र राज्यको सट्टा “ग्लोबल सिटिजन” बन्ने आकांक्षा राख्छ। यी सकारात्मक चेतनाहरूले प्रगतिशील विचार ल्याएको भए पनि ती विचारहरू भावनात्मक रूपमा तातो तर वैचारिक रूपमा अस्थिर बनेका छन्। त्यसैले जेन–जेड आन्दोलनले सामाजिक पुनरुत्थानभन्दा बढी सामाजिक असन्तुलन उजागर गरेको छ।

राजनीतिक नेतृत्व र वौद्धिक वर्गको असफलता नेपालको राजनीतिक नेतृत्वले दशकौँदेखि सत्ता-केन्द्रित संस्कृतिलाई कायम राखेको छ। राष्ट्रको दीर्घकालीन दृष्टि, मूल्य र विचारको निर्माण गर्नुपर्ने ठाउँमा दलगत र पदलोलुप प्रवृत्ति हावी भएको छ। यस्तै, वौद्धिक वर्ग पनि आलोचनात्मक र स्वावलम्बी सोच भन्दा पद र पैसामुखी पेशामा सीमित छ। विद्यालय र विश्वविद्यालयहरूले राष्ट्रियता, लोकतन्त्र र समाजवाद–उन्मुख अभिमुखीकरण गर्न नसक्दा देशले वैचारिक रूपमा ठूलो क्षति व्यहोरेको छ। अधिकांश वौद्धिकहरू सामाजिक बहसमा आउन हिच्किचाउँछन्, किनकि— उनीहरू राजनीतिक दल र नेताका पिछलग्गु बनेका छन्, स्वतन्त्र विचार राख्दा पेशागत जोखिम हुने डर छ, र केहीले बौद्धिकता नै व्यक्तिगत लाभको साधन बनाएका छन्। यसरी वौद्धिक मौनता र वैचारिक निर्भरता मिलेर समाजमा विचारहीन नेतृत्व जन्माएको छ।
अवसरवादी बौद्धिक प्रवृत्ति र यसको असर आज नेपालमा निश्वार्थ र योगदानमुखी बौद्धिक नेतृत्व थोरै मात्र छ। अवसरवादी बौद्धिक बर्गको नीति–निर्णयमा प्रभाव रहँदा— स्वार्थ पोषित नीति बनिरहेका छन्, योग्य र प्रतिभाशाली जनशक्ति उपेक्षित भइरहेका छन्, प्रोत्साहन र मूल्याङ्कन पक्षपातपूर्ण बनेको छ। यसरी, योग्य युवाहरू विदेश पलायन हुन बाध्य छन्, देशभित्रका विद्यार्थीहरू अन्यायपूर्ण प्रतिस्पर्धा र निराशामा बाँधिएका छन्। नतिजा स्वरूप नयाँ पुस्ताको मूल्य–अभिमुखी “schooling” नै बिग्रिएको छ। सकारात्मक विचलन (नवप्रयोग) भन्दा नकारात्मक विचलन (अराजकता) ले स्थान लिएको छ।
वौद्धिक वर्गको सामाजिक–सांस्कृतिक भूमिकाका सैद्धान्तिक आधार वौद्धिक वर्ग समाजको वैचारिक मेरुदण्ड हो। समाजशास्त्रका दृष्टिले यसको भूमिका निम्न सैद्धान्तिक आधारमा स्पष्ट गर्न सकिन्छ—
1. एण्टोनियो ग्राम्सीको “Cultural Hegemony” सिद्धान्त अनुसार, वौद्धिक वर्गले समाजमा विचार र मूल्यको दिशा तय गर्छ। उनीहरूले जनसाधारणको चेतनामा वर्चस्व जमाउने विचार (hegemonic idea) निर्माण गर्छन्। यदि वौद्धिक वर्ग निष्क्रिय रह्यो भने सत्ता र पूँजीले नै विचारको नियन्त्रण गर्छ। नेपालमा यही भयो— राजनीतिक नेतृत्वले वौद्धिक वर्गलाई आत्मसात् गर्यो।
2. कार्ल म्यानहेमको “Sociology of Knowledge” सिद्धान्त ले भन्छ— ज्ञान र विचार सामाजिक सन्दर्भमा निर्मित हुन्छन्। त्यसैले वौद्धिकहरूले सत्ताको सट्टा समाजको आवाज बन्नुपर्छ। तर नेपालमा वौद्धिकहरूले सत्ता–समीपता रोजेका कारण ज्ञानको सामाजिक सन्दर्भ कमजोर भएको छ।
3. पिएर बर्दियूको “Cultural Capital Theory” अनुसार, शिक्षा र सांस्कृतिक पूँजी वौद्धिकहरूको मुख्य हतियार हो। उनीहरूले समाजमा मूल्य, स्वाद र मानक बनाउने शक्ति राख्छन्। जब यो पूँजी निजी स्वार्थमा सीमित हुन्छ, समाजमा समान अवसर र नैतिक सन्तुलन नष्ट हुन्छ। यसरी सैद्धान्तिक रूपमा हेर्दा, वौद्धिक वर्गको जिम्मेवारी केवल विचार उत्पादन होइन, समाजलाई नैतिक, सांस्कृतिक र राजनीतिक दिशामा सन्तुलित राख्ने हो। तर नेपालमा वौद्धिक वर्गले यो भूमिका गुमाएको छ।
विचलनको खतराबाट समाज जोगाउने उपाय
1. मूल्य–आधारित शिक्षा सुधार — विद्यालय र विश्वविद्यालयहरूमा नागरिकता, नैतिकता र आलोचनात्मक सोच विकास गर्ने अभ्यास आवश्यक छ।
2. निश्वार्थ वौद्धिक पुनर्जागरण — स्वतन्त्र र सत्यनिष्ठ विचारकहरूको संरक्षण गर्नुपर्नेछ, जसले युवाहरूलाई दिशानिर्देश दिन सकून्।
3. राजनीतिक पारदर्शिता र जवाफदेहिता — नीति निर्माणमा merit-based प्रणाली लागू गर्नुपर्छ।
4. संस्कृति पुनर्स्थापना र आत्मगौरवको अभियान — नेपालीपन र राष्ट्रिय चेतनालाई पुनर्जीवित गर्न कला, साहित्य र संस्कृतिको पुनर्जागरण आवश्यक छ।
र अन्तमा नेपालको सामाजिक–सांस्कृतिक विचलन केवल युवाहरूको असन्तुलन होइन, यो राजनीतिक र बौद्धिक असफलताको संयुक्त परिणाम हो। जब बौद्धिक वर्ग मौन हुन्छ, शिक्षा आत्माविहीन बन्छ र राजनीति दिशाहीन बन्छ, तब राष्ट्र नै संकटमा पर्छ। यस अवस्थामा आवश्यक छ— निश्वार्थ, योगदानमुखी र मूल्य–आधारित वौद्धिक पुनर्जागरण, जसले युवापुस्तालाई राष्ट्रिय भावना, वैचारिक स्पष्टता र सामूहिक उद्देश्यतर्फ उन्मुख गराउन सकोस्। यही हो — विचलनको खतराबाट समाज जोगाउने एकमात्र स्थायी बाटो।
