राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीहरूमा पछिल्ला वर्षहरूमा जङ्गली हात्तीको उपद्रो बढ्दो क्रममा छ । खेतमा लगाइएका धान, मकै, उखु, तरकारीजस्ता बाली हात्तीले खाइदिने र घरगोठ भत्काउने घटनाले स्थानीय कृषक त्रासमा बस्न बाध्य भएका छन् ।

रातभर टिन ठटाउँदै, पटाका पड्काउँदै, आगो बाल्दै खेतमा बसेर हात्ती भगाउने परम्परागत उपाय निष्प्रभावकारी हुँदै गएका छन् । हात्तीको झुण्ड खेतबारीमा छिरेपछि पेट टन्न नभएसम्म भाग्दैन । साँझ पर्नासाथ फेरि फर्कने क्रम निरन्तर जारी रहदै आएको छ । हात्तीको बथान खेतमा प्रवेश गरी कृषकको बाली नोक्सानी मात्रै गर्दैन कहिलेकाहीँ द्वन्द्वका घटनासमेत निम्त्याउँछ ।

सामुदायिक वन राष्ट्रिय महासंघ सुदूरपश्चिमका महासचिव तथा वन्यजन्तु विज्ञ पुनाराम चौधरीका अनुसार हात्ती भगाउने प्रभावकारी वैकल्पिक उपायको रूपमा मौरीपालन प्रयोग गर्न सकिन्छ । “मौरीको भुनभुन आवाज हात्तीले सहनै सक्दैन,” चौधरी बताउँछन्, “त्यसैले जहाँ मौरीका घार राखिन्छन्, हात्ती त्यहाँ आउँदैन ।” उहाँका अनुसार लालझाडी गाउँपालिका–४ डाँडाँजाईस्थित कञ्चन सामुदायिक वनमा यही विधि सफलतापूर्वक प्रयोग गरिएको थियो । दशकअघि सो क्षेत्रमा नियमित रूपमा हात्ती प्रवेश गथ्र्यो, तर मौरीका घार राखेपछि हात्तीले त्यो बाटो प्रयोग गर्न छाडेको थियो ।

“तर, स्थानीय समुदायले निरन्तरता दिन नसक्दा समस्या पुनः देखा परेको छ,” चौधरीले भन्नुभयो । उहाँका अनुसार मौरीपालनले हात्ती भगाउने मात्र होइन, स्थानीय बासिन्दाको आयआर्जनमा पनि टेवा पु¥याउँछ । मह उत्पादन गरी किसानले बिक्री गरी आम्दानी लिन सक्छने उहाँले बताउनु भयो ।
हात्ती भगाउन मौरी पाल्ने कार्य केन्या, तान्जानिया, अमेरिका र युरोपका विभिन्न देशमा दशकौँदेखि सफलतापूर्वक प्रयोग भइरहेको उहाँ बताउनु हुन्छ ।
“हात्तीले मौरीको आवाज सुनेपछि तुरुन्त फर्किन्छ,” उहाँले भन्नुभयो, “मौरीका घार एक–आपसमा डोरीले बाँध्दा घार हल्लिएर मौरी बाहिर निस्कन्छ, हात्तीलाई टोक्छ, र त्यसपछि हात्ती भाग्छ ।” विद्युतीय तारजडान वा अन्य यान्त्रिक प्रणालीको तुलनामा यो कम खर्चिलो, पर्यावरणमैत्री र भरपर्दो उपाय भएको उहाँको भनाई रहेको छ । मौरीपालन बाहेक अर्को नौलो उपायका रूपमा खुर्सानी, तमासु र मोविल दलेर हात्ती प्रवेश गर्ने ठाउमा तारवार झै लगाईने जुटको डोरीका छेकवारको प्रयोग हात्ती नियन्त्रण गर्न प्रभावकारी देखिएको छ । विसं २०७४ सालतिर नेपाल भारतका संरक्षणर्की विच भएको बैठकका क्रममा भारतीय समुदायसँगको छलफलपछि यो प्रयोग पुनर्वास नगरपालिकाका सामुदायिक वनहरूमा गरिएको वन वातावरण संरक्षणकर्मी समेत रहेका चौधरीले बताउनु भयो ।
“जुटको डोरीमा खुर्सानी, मोविल र तमाखुको मिश्रण बनाएर दल्या,ैं,” चौधरीले भन्नुभयो,“त्यसलाई तारवारझैँ तीन तहमा हात्ती हिँड्ने बाटोमा तान्यौं, त्यसपछि हात्तीले त्यो बाटो प्रयोग गर्न छाड्यो ।” यो मिश्रणको गन्ध टाढासम्म पुग्ने भएकाले हात्तीले मन नपराउने हुदा नजिक आउनै छाडेको उहाँले उल्लेख गर्नु हुदै हात्तीले गल्तीले डोरी छोयो भने पोल्ने अनुभव हुन्छ, जसले हात्तीलाई तुरुन्तै पछि फर्किन बाध्य बनाउने बताउनु भयो । सामुदायिक वन क्षेत्रको तीन किलोमिटर क्षेत्रमा यो प्रयोग गरिए पछि वर्षौ देखि हिडदै आएको बाटो छाडेर त्यसपछि हात्तीहरूले दोदा नदीतर्फको वैकल्पिक बाटो प्रयोग गर्न थालेको बताउनु भयो ।
तेस्रो वैकल्पिक उपायका रूपमा हात्ती प्रभावित क्षेत्रका किसानलाई जडिबुटी खेतीतर्फ आकर्षित गर्नुपर्ने सुझाव सुनदेवी उपभोक्ता समितिका हवलदार चौधरी दिनुहुन्छ ।
“मिन्था (मेन्था), क्यामामाईल, तुलसी, लगायतका जडिबुटी हात्तीलाई मन नपर्ने बनस्पतीका रुपमा रहेका छन” उहाँले भन्नुभयो, “यी जडिबुटीजन्य बनस्पतीलाई हात्तीले नोक्सानी नगर्ने भएकाले हात्ती प्रभावित क्षेत्रमा यसको खेती गर्नु उपयुक्त हुन्छ , यस बालीले हात्तीलाई खेतबाट टाढा राख्ने मात्र होइन, किसानलाई अतिरिक्त आम्दानी पनि दिलाउन मद्दत पुरयाउन सक्छ ।”
विगतमा दातृ निकायको सहयोगमा जडिबुटी खेती गर्ने तौर तरिका सिकाए पछि किसान खेतीनै गर्न थाले पछि अनुदानमा प्रशोधन मेसिन नै दिएका थिए, तर बजार नपाएपछि किसानले खेती छाडेको स्मरण चौधरी गर्नु हुन्छ । उहाँका अनुसार उपकरण अहिले थन्किएका छन्, तर बजार र प्राविधिक सहयोग भए यो खेती पुनः सुरू गर्न सकिने उहाँको भनाई रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपरका बस्तीहरू लालझाडी, पुनर्वास, बेलौरी, शुक्लाफाँटा, दोधाराचाँदनी र भीमदत्त नगरपालिकाका मध्यवर्ती क्षेत्रहरूमा हात्तीको झुण्डले वार्षिकरूपमा लाखौँ रुपैयाँ बराबरको क्षति पु¥याउने गरेकोे छ ।
हात्तीले खेतमा लगाएको अन्न मात्रै होइन, घरभित्रको अन्न, लत्ताकपडा र भाँडाकुँडासम्ममा नोक्सानी पुरयाउदै आएको छ । भारतको दुधुवा नेशलपार्कहुदै वर्षेनी धान र गहुँबाली लगाउने बेला देखि पाक्दा सम्म हात्ती चुरे क्षेत्र र निकुञ्ज क्षेत्रको वनमा सक्रिय रहने गर्दछन । केही वर्ष यता देखि हात्तीले मानविय र भौतिक क्षति पनि पुरयाउदै आएको छ । वन संरक्षणमा पुगेको टेवाले हात्तीका केही बथान भने वर्षभरीनै निकुञ्ज क्षेत्रमा रहन समेत थालेका छन ।
