बुढी पोल्ने दिन : सुदूरपश्चिमेली संस्कृतिको आत्मा

हेमा भट्ट/ कञ्चनपुर – सुदूरपश्चिमका गाउँबस्तीमा आज बिहानदेखि एक विशेष चहलपहल छ। हिजोअस्ति सम्म खेतबारीमा हरियालीमा रमाइरहेका किसानहरू आज भने आफ्ना आँगनमा झुम्मिएका छन्। किनभने आज बुढी पोल्ने दिन हो – पुराना पीडा, अभाव र दुःखलाई पोल्ने र नयाँ जीवन, नयाँ आशा र समृद्धिको ज्योति जगाउने दिन।

बालबालिका उत्साहका साथ पराल, सुक्खा घाँस, पुराना लुगा र काठ संकलन गर्छन्। युवाहरू आगोको चारैतिर गोलो घेरा बनाउँछन्। वृद्धबृद्धा भने टाढाबाट आशीर्वाद दिन्छन्, “हेर्, यो आगोले हाम्रो पीडा, रोगराइ र सबै अपशकुन जलाईदेओस्।”

सांस्कृतिक रूपमा बुढी पोल्ने दिनलाई दुःखलाई दाह संस्कार गर्ने दिन भनिन्छ। गाउँका बुढाबुढी भन्छन् – “बुढी पोलिसकेपछि आत्मा हलुका हुन्छ, मनमा नयाँ साहस आउँछ।” यसै दिनलाई आधार मानेर पुराना ऋतु, पुराना कष्ट र पीडालाई अन्त्य गरेर नयाँ यात्रा सुरु गरिन्छ।

स्थानीय विश्वासअनुसार यो पर्व ऋषि–मुनीकालदेखि प्रचलनमा आएको हो। ‘बुढी’ भनेको पुरानो, मरेको वा अब आवश्यक नभएको जीवनको बोझ हो। त्यसलाई पराल, कपडा वा काठको पुतली बनाएर आगोमा पोलिन्छ। धार्मिक व्याख्या अनुसार, यो परम्पराले नकारात्मक ऊर्जा नष्ट गर्ने, परिवारलाई सुरक्षित राख्ने र प्रकृतिलाई धन्यवाद दिने सन्देश दिन्छ।

सुकासालकि ८० वर्षीया आमा घाैलि पन्त स्मरण गर्दै भनिन्,
पहिल्यै त हामी बच्चा हुँदा बुढी पोल्दा गाउँभर ढोल बज्थ्यो, गीत गाइन्थ्यो। सबै गाउँवासी एउटै ठाउँमा भेला हुन्थे। त्यो आगोले मानौँ मनको पीडा समेत जलाइदिन्थ्यो।

आज सुदूरपश्चिमका गाउँ मात्र होइन, शहरहरूमा पनि बुढी पोल्ने लहर देखिएको छ। धनगढीको जुगेडी खोलामा बेलुकी सामूहिक बुढी पोल्ने कार्यक्रम हुँदैछ। कञ्चनपुरको त्रिभुवनबस्ती, डोटीको सिलगढी र डडेल्धुराको बागबजारमा युवायुवतीले नाचगान, सांस्कृतिक झाँकी र सामूहिक भोजको तयारी गरेका छन्।

यस दिन घर–घरमा आँगन सफा गर्ने, देवीदेवताप्रति पूजा गर्ने, नयाँ बिउ छर्ने, अन्नको भकारो खुलाउने परम्परा अझै जीवित छ। कतिपय ठाउँमा आगो पोलिसकेपछि खरानीलाई खेतबारीमा हाल्ने चलन छ, जसलाई उर्वराशक्ति बढाउने विश्वास गरिएको छ।

बुढी पोल्ने दिन केवल एउटा जातीय पर्व मात्र होइन। यो जीवनदर्शन हो। मानिसको जीवनमा आएका कठिनाइ, रोगव्याधि, र अवरोधलाई पोल्दै “नयाँ बिहान सुरु गर्ने” प्रेरणा दिने संस्कृति हो। सांस्कृतिक विद्वान्हरू भन्छन् – बुढी पोल्ने चलनले मानिसलाई साहस दिन्छ। यसले भन्छ – पीडा अनन्त हुँदैन, एक दिन त्यो पोलिन्छ र नयाँ ऊर्जा जन्मिन्छ।

समयसँगै यो पर्व शहरमा पनि लोकप्रिय बन्दै गएको छ। विद्यालय, थारु कलाकेंद्र र सामुदायिक संस्थाहरूले यसलाई संरक्षण र प्रचार गर्दै आएका छन्। यसले नयाँ पुस्तालाई आफ्नै मौलिक संस्कृतिप्रति गर्व गर्न सिकाएको छ।

धनगढीका युवा सन्तोष चौधरी भन्छन् – “हामी आधुनिकता त अंगालिरहेका छौँ, तर बुढी पोल्ने जस्ता पर्वले हामीलाई हाम्रो जरासँग जोडेर राख्छ। यही हाम्रो पहिचान हो।”

आज बेलुकी जब सुदूरपश्चिमका गाउँ–गाउँमा बुढी बल्नेछ, त्यस आगोमा केवल पराल वा कपडामात्र जलेका हुने छैनन्। त्यहाँ जलेका हुनेछन् – मानिसको पीडा, अपशकुन र अन्धकार। र, आगोको ज्योतिमा उदाएको हुनेछ – आशा, विश्वास र उज्यालो भविष्य।

ताजा समाचार