सिंहपुर युवा क्लब तथा गाउँ समाजको भवन उद्घाटन सम्पन्न


हेमा भट्ट/ कञ्चनपुर : कृष्णपुर नगरपालिका–६, सिंहपुरमा श्री सिंहपुर युवा क्लब तथा सिंहपुर गाउँ समाजको संयुक्त आयोजनामा भवन उद्घाटन समारोह सम्पन्न भएको छ। “आफ्नो गाउँ आफैँ बनाऔँ” भन्ने मूल नाराका साथ अघि बढिरहेको यस क्लब तथा समाजको भवन सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत तत्कालीन प्रदेश सभा सदस्य महेश दत्त जोशीको पहलमा विनियोजित रु. २० लाखको लागतमा निर्माण गरिएको हो।

कार्यक्रमको अध्यक्षता ठाकुरराम चौधरीले गरे भने प्रमुख अतिथि पूर्व प्रदेश सभा सदस्य महेश दत्त जोशी रहेका थिए। विशिष्ट अतिथिमा कृष्णपुर–६ का वडा अध्यक्ष बाबुराम चौधरी, वडा सदस्य रमेश चौधरी, समाजसेवी तथा सिंहपुर सामुदायिक वनका अध्यक्ष जोगराज चौधरी, पूर्व वडा अध्यक्ष नत्थुराम चौधरी, बडागुरुवा फुलाराम चौधरी, देशबन्ध्या खुसीराम चौधरी, लबरु चौधरी, जय राम भण्डारी (वडा नं. ७ का सचिव), पन्त लगायतका स्थानीय अगुवा, बुद्धिजीवी र समाजसेवीको उपस्थिति थियो।

कार्यक्रममा कुम्भकरण चौधरीले गीतमार्फत स्वागत मन्तव्य दिएका थिए। वक्ताहरूले जोशीको योगदानको प्रशंसा गर्दै भवनले गाउँको सामाजिक तथा सांस्कृतिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। जोगराज चौधरीले गाउँको विगत र चुनौतीहरूको स्मरण गर्दै सामाजिक एकतामा भवनले नयाँ आयाम दिने बताए। वडा अध्यक्ष बाबुराम चौधरीले अतीतमा भुइँमा चटाइमा बसेर बैठक गर्नुपर्ने अवस्थाबाट अब आधुनिक भवनको प्रयोग गर्न पाउनु ठूलो उपलब्धि भएको टिप्पणी गरे।

प्रमुख अतिथि महेश दत्त जोशीले भवनको उद्घाटन गर्दै युवादिवसको शुभकामना व्यक्त गर्दै भने, “युवा देशको गहना हुन्, उनीहरूले जिम्मेवारी लिनुपर्छ। सानो रकममा ठूलो काम गरेर युवाहरूले उदाहरण पेश गरेका छन्।” उनले गाउँ–गाउँसम्म पूर्वाधार पुगेको, कालोपत्रे सडक विस्तारको प्रगति र राजनीतिक क्षेत्रमा फिल्टर आवश्यकतासम्बन्धी विचार पनि व्यक्त गरे।

कार्यक्रममा महिला समूहले नृत्य तथा सांस्कृतिक प्रस्तुति मार्फत अतिथिहरूलाई सम्मान गरेका थिए। भवन उद्घाटनसँगै क्लब तथा समाजले सामुदायिक विकास, सामाजिक एकता र विपन्न समुदायको सहयोग अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका छन्।


ताजा समाचार

spot_img