बेलौरी : नेपाल पंछी संरक्षण संघ(विसिएन)को आयोजनामा ताल तथा सिमसार क्षेत्रमा आश्रित चरा संरक्षणका लागि सचेतना कार्यक्रम बेलौरी नगरपालिका ७ स्थीत अमरस्मृति सामुदायिक वनमा सोमवार सम्पन्न भएको छ । कञ्चनपुर पंछी संरक्षण समुहका अध्यक्ष सन्देश चौधरीको सभापतित्वमा आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले सीमसार क्षेत्र तथा चरा संरक्षणका लागि सहकार्य गरेर अगाडी बढने बताउनु भयो ।

विसिएन संगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न योजनावद्ध रुपमा लाग्ने उहाँले बताउनु भयो । नेपाल पंछी संरक्षण संघका चरा विद हिरुलाल डगौराले सीमसार क्षेत्र र चराको अबस्था बारे कार्यक्रमका सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले चरा तथा जैविक विविधता, ताल तथा सीमसार क्षेत्रको अबस्था,जलवायु परिवर्तन तथा प्राकृतिक प्रकोप, पंछी बसाइ सर्ने कारण, चरा संरक्षणका चुनौतीहरु, संरक्षणका चुनौतीहरु र पंछीका भूमिका र महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले कार्यक्रममा जिवजन्तु तथा चरा संरक्षण बारे भएको कानुनी व्यवस्थाका बारे कार्यक्रमका सहभागीहरुलाई बताउनु भएको थियो । कार्यक्रममा वडा नं १ देखि १० सम्मका वडा अध्यक्ष तथा सदस्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामुदायिक वनका प्रतिनिधि, भलमन्सा, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।







