कञ्चनपुर :भीनपा–५, बनगाँउ स्थित प्रकाश मेमोरियल पब्लिक विद्यालयले हिन्दुहरूको धार्मिक महिना माघको अवसरमा बेदकोट नगरपालिका ७, ८ स्थित बैजनाथ वृद्धसेवा केन्द्रका वृद्ध आमाबुवाहरुलाई लुगा, कपडा, खाद्यान्न सामाग्रीका साथै फलफूल वितरण गरेका छन् ।

विद्यार्थीहरुमा सेवा भाव जगाउने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी र कक्षा ५ देखि ९ सम्मका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर वृद्धसेवा केन्द्रका वृद्ध आमाबुवाहरुलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक निलम आलेले बताउनु भयो । अहिले युवाहरु दिनप्रतिदिन दुर्व्यसनको सिकार हुनुको साथै अनुशासनहीन हुदैगई रहेको अवस्थामा यस्ता कार्यक्रमले विद्यालयका विद्यार्थीहरुमा अनुशासन युक्त बनाउनका साथै दुर्व्यसन मुक्त बनाउन यस्ता कार्यले सहयोग गर्ने प्रअ आलेले बताउनु भयो ।

विद्यार्थीको जीवनमा शिक्षा अति आवश्यक छ, साथै विद्यार्थीहरूको जीवनमा शिक्षाको साथै अनुशासन र नैतिकतावान पनि हुनु जरुरी छ । जसले गर्दा आमा बुवा, विद्यालय, शिक्षक, शिक्षिका साथै समाज पनि गौरावान्वित हुन्छ र प्रकाश मेमोरियल विद्यालयले विद्यार्थीको जीवनमा अनुशासन र नैतिक शिक्षा दिनको लागि प्रत्येक वर्ष यस प्रकारको कार्य गर्दै आइरहेको छ ।







