झलारी : जुनोटिक रोगबारे शुक्लाफाँटा नगरपालिकामा आज सरोकारवालाहरु संग एक दिने अन्र्तक्रिया कार्यक्रम आयोजना गरियो । जुनोटिक रोगबारे जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
नगरपालिकाको पशु विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिका क्षेत्रमा जुनोटिक रोग रोकथाम र नियन्त्रणका लागि भएका प्रयास बारे शाखा प्रमुख रामप्रसाद भट्टले जनाकारी दिनु भएको छ । कार्यक्रममा पशु चिकित्सक नविन पन्तले जुनोटिक रोगको परिचय, रोगका प्रकार, रोगले निम्तयाउने मानविय क्षति बारे सरोकारवालाहरुलाई जानकारी दिनु भएको छ । वर्ड फ्लु, स्वाईन फ्लु, रेविज पटके,ओर्निथोसिस,ब्रुसेलोसिस, हाइडाटिडोसि,लेप्टोस्पाइरोसिस लगायतका रोगबारे कार्यक्रममा बताउनु भयो ।

यसैगरी, पशुरोग अन्वेषण प्रयोगशाला धनगढी, कैलालीका बरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले एन्टिमाइक्रोबियल रेजिस्टेन्सका बारेमा विश्व स्वास्थ्य संगठनले जारी गरेको चेतावनी बारे सहभागीहरुलाई जानकारी गराउनु भयो ।
यो संग उहाँले रेविज रोगको अबस्था र यसले निम्त्याउदै आएको जोखिम बारे सहभागीहरुलाई जानकारी गराउनु भयो । कुकुर, स्याल, विरालो लगायतका जनावरबाट सर्ने रेविज रोगको संक्रमण प्रदेशका नौ जिल्ला मध्ये कैलाली र कञ्चनपुरमा बढी देखिन थालेकाले सचेत हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमको सभापतित्व कार्यपालिका सदस्य भुमा चन्दले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथिमा नगर प्रमुख रण बहादुर महरा रहनु भएको थियो । विशिष्ट अतिथिमा नगर उप प्रमुख कल्पना पन्त रहनु भएको थियो । कार्यक्रमको सञ्चालन टिका तिवारीले गर्नु भएको थियो । कार्यक्रममा मासुपसल व्यवसायी, स्वास्थ्यकर्मी, पशुपंछीपालक लगायतको सहभागीता रहेको थियो ।







