महेन्द्रनगर: भीमदत्त नगरपालिका स्तरिय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिको बैठक नगरपालिकामा आईतबार सम्पन्न भएको छ । भिमदत्तनगर पालिकाका उप–प्रमुख तथा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशीको अध्यक्षतामा भएको बैठकमा आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले भिमदत्त नगरपालिकामा आफन्त नेपालले गरिरहेका कार्यक्रमहरु, लक्षित समुदायलाई प्रदान गरेको सीपमुलक र क्षमता अभिबृद्धि तालिम तथा जिविकोपार्जन सहयोग बारे जानकारी दिदै कञ्चनपुर जिल्लामा मानव बेचबिखन तथा ओसार पसार र बालश्रम शोषणको अवस्था, चुनौती र समाधानकालागि सरोकारवालाहरुको भुमिका बारे प्रस्तुती गरेका थिए ।


बैठकमा ‘भिमदत्त नगरपालिकाका उप–प्रमुख मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिका संयोजक निलम लेखक जोशीले ‘मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि भिमदत्त नगरपालिका प्रतिवद्ध रहेको बताउदै भन्नु भयो, ‘पालिकामा मानव बेचबिखन, ओसारपसार र बाल श्रमशोषण बिरुद्ध कार्यरत संस्थाहरुसंगको समन्वय र सहकार्यमा हामी मानव बेचबिखन र बालश्रम शोषण नियन्त्रण गर्ने कार्यमा प्रतिवद्ध छौं’, उहाँले आफन्त नेपालले बालश्रमबाट उद्धार गरीएका बालिका, युवा र किशोरीहरुलाई सीपमुलक तालिम दिनु सकारात्मक रहेको बताउदै सीपमुलक तालिम लिएका बहीनीहरुले पनि सीकेको सीपलाई प्रयोग गरी स्वरोजगार हुनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले आफन्त नेपाल संस्थाले भिमदत्त नगरपालिकासंग समन्वय र सहकार्यद्धारा नै कार्यक्रम गरिरहेकोमा संस्थाको प्रसंसा गर्नु भयो’ ।

यसका अतिरिक्त उहाँले भन्नु भयो, ‘सिमानाकामा मात्रै निगरानी, सोधपुछ र उद्धार गरेर पुर्ण रुपमा मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्न नसकिने तर्क गदै, उहाँले भन्नु भयो, ‘संघसंस्थाहरुले बेचबिखन र बालश्रमको जोखिम भएका बस्ती र समुदाय स्तरमा नै मानव बेचबिखन र बालश्रमशोषण बिरुद्ध जनचेतना अभिबृद्धिका कार्यक्रम गर्नुपर्ने तर्फ जोड दिदै, सवै संघसंस्थाहरुले सरोकारवालाहरुसंग छलफल र समन्वय गरी कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो’ । कार्यक्रममा भिमदत्त नगर पालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष पदम राज अवस्थीले मानव बेचबिखन र बालश्रम शोषण रोकथामकालागि आफन्त नेपालले प्रसंशा योग्य काम गरिरहेको भएपनि सवै लक्षित समुदाय सम्म पुग्नुपर्ने कुरामा जोड दिनु भयो, उहाँले भन्नु भयो ‘महेन्द्रनगर बजार संग जोडिएको वडा हो, शहरोन्मुख वडा हो, यहाँ बिभिन्न क्षेत्रमा बालश्रमिकहरु रहेका हुन सक्दछन् सवै स्थानमा संस्थाले निगरानी बढाई बालश्रमबाट बालबालिकालाई उद्धार गर्नु आवश्यक छ, त्यसकालागि वडा कार्यालय सहयोग गर्न तयार छ’ ।


त्यसैगरी वडा नं. ११ का वडा अध्यक्ष प्रकाश थापाले बिभिन्न संस्थाले वडाहरुमा आफुखुसी काम गरिरहेको बताउदै, वडा कार्यालय संग समन्वय र सहकार्य गरेर कार्यक्रम गर्नु पर्ने कुरामा जोड दिनु भयो, ‘संस्थाले काम गरिरहेको हुन्छ, तर वडालाई जानकारी भएन भने, वडाले त्यसको अपनत्व स्वीकार नगर्ने र कार्यक्रमको महत्व पनि नहुने बताउदै, उहाँले वडा कार्यालय संग समन्वय गर्नुपर्ने आवश्यकता औल्याउनु भयो’ । कार्यक्रममा बिभिन्न सरकारी कार्यालय र गैरसरकारी संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।






