झलारी : शुक्लाफाँटा नगरपालिका ११ स्थीत आधारभूत स्वास्थ्य चौकी दीपनगरको आयोजनामा शुक्रवार दादुरा –रुवेला खोप अभियान सञ्चालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । फागुन १३ गते देखि २१ गते सम्म सञ्चालन हुने अभियानका लागि खोप लगाउने उमेरका बालबालिकाका अभिभावकलाई विद्यालय मार्फत निमन्त्रणा कार्ड पठाउने कार्यलाई अगाडी बढाईएको अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य चौकीका प्रमुख कृष्णराज जोशीले बताउनु भयो । वडा भित्रका सामुदायिक र संस्थागत विद्यालयमा निमन्त्रणा कार्ड पठाईएको उहाँले जानकारी दिनु भयो ।

“विद्यालयमा निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ” उहाँले भन्नु भयो, “विद्यालयका शिक्षकले अध्ययनरत विद्यार्थी मार्फत अभिभावकलाई कार्ड पुरयाउने कार्य गर्छन ।” अभिभावकलाई बालबालिका खोप केन्द्र सम्म ल्याउनका लागि निम्तो दिन कार्ड पठाईएको उहाँले बताउनु भयो । उहाँका अनुसार निमन्त्रणा कार्डमा नौ दिने दादुरा–रुवेला खोप अभियान सञ्चालन हुन लागेकाले ९ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई खोप लगाउनका लागि नजिकैको खोप केन्द्रमा ल्याउनका लागि आग्रह गरिएको छ ।

“यस अभियानमा पाँच वर्ष मूनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाईने भएकाले खोप कार्ड लिएर आउन आग्रह गरेका छौं” स्वास्थ्य चौकी प्रमुख जोशीले भन्नु भयो, “दादुरा–रुवेला रोगबाट एक जना संक्रमित व्यक्तिले १८ जना सम्मलाई संक्रमण गर्न सक्छ, त्यसैले खोपको पूर्ण मात्रा लगाएर सुरक्षित बन्नका लागि भनेका छौं ।” खोप अभियानलाई प्रभावकारी बनाउनका लागि सबैको सहयोग र सहकार्यको आवश्यकता भएको वडा अध्यक्ष शेर बहादुर साउदले बताउनु भयो ।

वडा कार्यालय अन्र्तगत आठ वटा खोप केन्द्र मार्फत नौ महिना देखि पाँच वर्ष मूनिका पाँच सय २१ र पाँच वर्ष देखि १५ वर्ष मूनिका एक हजार एक सय ९६ गरी एक हजार सात सय १७ बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिईएको छ । नगरपालिका क्षेत्र भित्र भने ६८ खोप केन्द्र मार्फत नियमित खोप पाई रहेका र खोप लगाउनबाट छुटेका १५ हजार आठ सय ८४ बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिईन लागिएको छ । अभिमुखिकरण कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्रद्यानाअध्यापक, स्वास्थ्यकर्मी लगायतको उपस्थीति रहेको थियो ।
च्बवभलमचब










