दीपनगर स्वास्थ्य चौकीमा फेब्रुअरी महिना आयोडिन महिना


झलारी  : शुक्लाफाँटा नगरपालिका ११ स्थीत दीपनगर आधारभूत स्वास्थ्य चौकीले शुक्रवार फेब्रुअरी महिना आयोडिन महिनाका रुपमा मनाएको छ । ‘नुन थोरै खाऔं तर सहि मात्रामा आयोडिन भएको दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्रै खाऔं’ भन्ने नारा सहित कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष शेर बहादुर साउदले दुई वर्ष मूनिका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि आयोडिनयुक्त नुन र हातमुख धुनका लागि सावुन निःशुल्क रुपमा प्रत्येक महिना वितरण गरिदै आएको बताउनु भयो ।

अझै कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि आगामी आब देखि व्यवस्थीत गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो । स्वास्थ्य क्षेत्र निकै संवेदनशिल र चुनौतिपूर्ण रहेको उल्लेख गर्नु हुदै उहाँले स्वास्थ्य क्षेत्रलाई भरपर्दो बनाउनका लागि थप भौतिक पूर्वाधार विकास, स्वास्थ्यकर्मीको क्षमता अभिबृद्धि संगै औषधीको आपूर्तिमा सहज गर्नका लागि सक्दो पहल गरिने बताउनु भयो । सरस्वती माध्यमिक विद्यालय अमरपुरका प्रद्यानाअध्यापक राजेन्द्र बहादुर ऐरले स्वास्थ्य चौकीले सञ्चालन गरेको कार्यक्रमबाट बालबालिकाको पोषणमा सुधार हुने बताउनु भयो । स्वास्थ्य चौकीका प्रमुख कृष्णराज जोशीले प्रत्येक महिना दुई वर्ष मूनिका बालबालिकाका अभिभावकलाई एक किलो आयोडिनयुक्त नुन र एक वटा दरले सावुन वितरण गरिदै आएको बताउनु भयो ।

स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा जन्मेका शिशुहरुलाई कुपोषणबाट बचाउनका लागि कार्यक्रम दुई वर्ष देखि निरन्तर रुपमा सञ्चालन हुदै आएको उहाँले बताउनु भयो । स्वास्थ्य चौकीबाट एक सय ५० जना बालबालिकाका अभिभावकलाई आयोडिन युक्त नुन र सावुन निःशुल्क रुपमा वितरण गरिदै आएको उहाँले जानकारी दिनु भयो । जिल्लामै पहिलो पटक स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको कार्यक्रममा वडा कार्यालयको आर्थिक सहयोग निरन्तर रुपमा रहदै आएको उहाँले उल्लेख गर्नु भयो । कार्यक्रम सञ्चालन भएपछि कुपोषित हुने बालबालिकाको संख्या निकै कमी र सरसफाईको कमीले हुने संक्रामक रोगहरुबाट पीडित हुने बालबालिकाको संख्यामा कमी आएको उहाँको भनाई थियो ।


ताजा समाचार

spot_img