संघर्षका एक ज्वलन्त प्रतिबिम्ब विकास

प्रेमराज भट्ट,
जीवन निरन्तर प्रवाहित भैरहने प्रक्रिया न हो, चाहे त्यहा जस्तोसुकै बज्रपात किन नहोस् । कतिपय मानिस जीवनको संग्राममा खरो रुपमा त्यतिवेला उत्रिन्छन् , जव उनीहरुका सामु चुनौतीका पहाडहरु अविच्छिन्न रुपमा तेर्सिएका हुन्छन् । अलिक मात्र प्रतिकुल परिस्थितिमा पनि कतिले पलभरमै निरासा र हरेश खाई जीवनको ज्योतीलाई निश्तेज गर्छन् ।
यसका विपरित निडरता, अदाम्य सहास,निरन्तरता, अठोट, कर्मप्रतिको अटुट आत्मविश्वास राख्ने, दुःखलाई अल्पकालको सारथी मान्ने, हजारौं चोटी लडेर पनि उठ्ने हिम्मत राख्ने पनि हाम्रै समाजमा छन् भन्दा झट्ट अपत्यारिलो लाग्न सक्छ । यस्तैमा, कठोर परिश्रम, आत्मविश्वास र लगनशीलताले मानव जीवन सार्थक र सफलीभूत हुन्छ भन्ने ध्ययेलाई आत्मसात गरेर जीवनका हरेक आरोह अबरोह छिचोल्दै अग्रसर एक खेलाडी हुन् उनी, जीवन उत्सर्ग र निसर्गमा संघर्षका प्रतिमूर्ती खेलाडीमात्रै होइनन् उनी समाजसेवक पनि हुन् । जीवनलाई संघर्षको बाटोका रुपमा देख्ने र शारीरिक प्रतिकुलताका बाबजुद पनि केही गरौं भन्ने भावले ओतप्रोत उनको परिचयलाई समाजसेवक शब्दले मात्रै पूर्ण गर्दैन्, उनी कंचनपुरका आशालाग्दा कुशल युवा पत्रकार पनि हुन्, सबैसंग सौहार्यपूर्ण तथा सुमधुर सम्बन्धको स्थापित गरिकन अविश्रान्त जीन्दगीको पृथक यात्रा तय गरेका छन् । कहालिलाग्दो अथित र आशलाग्दो भविष्यको उज्ज्वल प्रकाश तर्फ उन्मुख उनका संघर्षमयी पाईलाहरु अपांगता क्षेत्रका लागि एक मिसाईल नै हुन् भने सम्पूर्ण मानवका लागि प्रेरणाका नविन स्रोत समेत बन्न पुगेका छन् धन बहादुर महता अर्थात विकास सिंह महता ।

सानैदेखि जिज्ञासु स्वभाव भएका विकास, सुदूरको दक्षिणी ग्रामिण वस्तीमा प्रकृतिको काखमै हुर्किएका उनको परिवारमा दोस्रो सन्तानका रुपमा माता–पिता (स्व.जाउलादेवी/लालबहादुर) महताका कोखबाट जन्म विं.सं २०५० सालमा भएको हो । उनका एक दाजु संगै तीन बहिनीहरु रहेका छन् । फुटवल खेलाडी तथा समाजसेवी विकास अहिले युवा पुस्तामा कंचनपुरमा कुशल पत्रकारका रुपमा सुपरिचित हुनुहुन्छ । विकास नामले उनलाई नचिन्ने सायदै होलान् । कराते खेल ५ वर्षसम्म खेलेका विकास क्रिकेटमा पनि उत्तिकै कुशलताका साथ प्रदर्शन गर्छन् । खेललाई जीवन विकासको बाटो मानेका थिए कुनै वेला उनले । यद्यपि,नियतिका सामु हारगुहार कस्को पो चल्थ्यो र,निष्ठुरी दैवले उनलाई शारीरिक रुपमा असक्षम बाल्यकालमै बनाउन पुग्यो। वि.सं.२०५९ सालमा जन्मथलोमा नै साथीहरुसंग पिंग खेल्दाखेल्दै देव्रे हात गुमाएतापनि उनी मानसिक रुपमा अब्बल देखिन्छन् ।

त्यसै मानसिक परिपक्वताका कारण उनले शारीरिक असमर्थतालाई पनि चिरेर अगाडी बढेका छन् । वि.सं.२०६७ सालमा सानैमा आमाको स्नेहबाट बञ्चित भएका उनलाई आफन्त लगायत साथीभाईबाट यथेष्ट माया र सदभाव प्राप्त भईरहेकै कारण पटक – पटक आफ्नै लगानीमा विभिन्न खेलकुद प्रतियोगीताको आयोजना गर्दै आईरहेका छन् । तत्कालीन राज्य संयन्त्रले २०५८ सालमा शुक्लाफांटा वन्यजन्तु आरक्ष निर्माण गर्दा विस्थापित परिवारमध्येमा विकासको परिवार पनि पर्दछ । विस्थापित भएको वर्षौ वितिसक्दा पनि उनी लगायतको कसैको पनि व्यवस्थापन हुन नसकेको उनको राज्यसंग गुनासो छ । उनको प्रश्न छ हामीलाई कहिले हेर्छौं, सरकार ? विकासले खेल क्षेत्रबाट छुट्टै पहिचान बनाएपश्चात उनलाई जीवनमा केही गर्न सक्दैन भन्नेहरुका मूखमा ताल्चा लागेको छ । विकासलाई कहिले कांहि यो कुराले खट्किन्छ की– यत्रो परिर्वतन भईसक्दा समेत असक्तता र अपांगता भएकालाई हेर्ने सामाजिक दृष्टिकोणमा परिर्वतन नआएकोमा । जीवनमा विभिन्न उतारचढावहरु आईरहे पनि विकाश सामाजिक कार्य गर्नबाट कहिल्यै बिचलित भएनन् । कलिलो उमेरमा आमा गुमाएका उनले, बुवाको अधिकांश जीवनकाल प्रदेशमै वितेका कारण बाबुको मायासमेत पाउन सकेनन् ।

बहुमुखी प्रतिभाका धनी विकास सबैलाई सक्दो सहयोग गर्छन् । बाल्यकाल हजुर आमाको काखमा विताएका विकाश, जीवनलाई संघर्षको रुपमा लिन्छन । फुटवल खेलाडीसंगै उनी फुटवलसंघ कञ्चनपुरका मनोनित सदस्य समेत हुन् यसका अलावा उनी एक समाजिक संस्था सहयात्रा नेपाल कंचनपुरमा आवद्ध छन् । उनी अहिले सुदूरपश्चिमाञ्चल विश्व विद्यँलयमा आमसंचार तथा पत्रकारिता मूल विषय लिएर स्नातक गरिरहेका उनले वि.सं.२०६७ सालमा कालिका माध्यमिक विद्यालयबाट माध्यमिक तह एस.एल.सी वोर्ड उत्तीर्ण गरेपश्चात विं.सं.२०७३ सालमा रौलेश्वर उच्च माध्यमिक विद्यालय बेल्डांडीबाट उच्च शिक्षा प्रविणतापत्र तहको अध्ययन गरेका थिए । विश्वविद्यालयस्तरियदेखि जिल्लास्तरिय विभिन्न फुटबल प्रतियोगितामा सहभागिता हुदै आएका विकासका प्रमाणपत्र, प्रसंशापत्रले घरका भीत्ताहरु भरीएका छन् , पुरस्कार र सम्मानले धेरै चोटी विभूषित समेत भईसकेका छन् विकास ।

पिडालाई शक्तिमा रुपान्तरित गर्दै आएका विकाससामु सधैं बादलहरु मडारिरहे । बाल्यकालमा मातृत्व स्नेह त पाएनन नै, अझ उनले वि.स.२०७६ गत साल मात्रै पितालाई उपचारका क्रममा गुमाउन पुगे। सबै शोकलाई झेल्दै सशक्त ढंगबाट पत्रकारिता र खेल क्षेत्रलाई संयुक्त रुपमा लगिरहेका विकास साहित्य सिर्जना समेत गर्ने गर्छन् । अहिले उनी दाई भाउजू, बहिनी, भतिजा– भतिजीसंगै भीमदत्तनगर- ६ एैठपुरस्थित भाडामा बस्दै आएका छन् । परिवारको साथसहयोगबाटै विकासले जीवन विकासको बाटोमा लागेको बताउछन् , उनी भन्छन् जस्तोसुकै परिस्थितिमा पनि हतास र हरेश खानु हुदैहुन्न, प्रयासमा नै सफलताको कुंजी हुन्छ, बहुमूखी प्रतिभा र कठिन परिश्रमका नमूना पात्र विकासको जीवन संघर्षबाट हामीले पनि केही पाठ सिक्ने कि ?

ताजा समाचार

spot_img