कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा आज आयोजित सर्वपक्षिय बैठकका सहभागीहरुले जग्गा नाप जाँचको कार्यलाई तिव्र गतिमा अगाडी बढाउनु पर्नेमा जोड दिएका छन । जनशक्ति थपेर जग्गा नापजाँचको कार्यलाई टुङ्गोमा पुरयाउनु पर्ने बैठकका सहभागीहरुले बताउनु भएको हो । बैठकमा सहभागी नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐरले अव्यवस्थीत बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्नका लागि जारी जग्गा नापजाँचको कार्य दु्रत गतिमा अगाडी नबढेको प्रति असुन्तुष्टि व्यक्त गर्नु भयो । “दुई वर्ष भित्रै सक्ने गरी जग्गा नापजाँचको कार्य हुनु पर्छ” उहाँले भन्नु भयो, “विलम्ब गरिनु हुदैन, जनशक्ति अभाव भए थप्नु पर्छ, त्यसका लागि आउदो विधान अधिवेशनबाटै बजेट रकमान्तर गरी व्यवस्था गरिनु पर्छ ।” आफनो कार्यकालमा राजनीतिक परिवर्तन संगै भूमि आयोगमा पदाधिकारी फेरवदल र कोरोना संक्रमणका कारण जग्गा नापजाँचको कार्य अगाडी बढन नसकेको उहाँले उल्लेख गर्नु भयो । नेकपा(एकीकृत समाजवादी)का नगर इन्चर्ज हरिश बिष्टले जग्गाको लालपूर्जा उपलव्ध गराउदा न्यून राजश्व लिने वातावरण कायम गरिनु पर्ने बताउनु भयो । “ग्रामीण क्षेत्रमा बस्दै आएका अव्यवस्थीत बसोवासीहरुले आयोगले निर्धारण गरेको राजश्व तिर्न तिर्न सक्ने अबस्था छैन” उहाँले भन्नु भयो, “न्यून भन्दा न्यून राजश्व निर्धारण गर्नका लागि पहल हुनु पर्छ ।”

नेकपा(माओवादी) केन्द्रका नगर सचिव दीपक भट्टले बजेट बढाएर भएपनि नापीको कार्य शुचारु गरिनु पर्ने बताउनु भयो । नेकपा(एमाले)का नगर अध्यक्ष भक्तराज जोशीले जग्गा नापजाँचको कार्यलाई अगाडी बढाउनका लागि कर्मचारी व्यवस्थापनमा ध्यान दिनु पर्ने बताउनु भयो । नेपाली काँग्रेसका नगर सभापती दान सिंह ऐरले स्थानिय बासिन्दाको जल, जंगल र जमिन माथिको अधिकार स्थापित गर्नका लागि जग्गा नापजाँचको कार्य व्यवस्थीत तरिकाले अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो । “नियम संगत र पारदर्शी रुपमा जग्गा नापजाँचको कार्य अगाडी बढोस भन्ने हाम्रो मान्यता छ” उहाँले भन्नु भयो । शुक्लाफाँटा उद्योग बाणिज्य संघका अध्यक्ष धिरेन्द्र साउदले नगरपालिकाले आउदो विधान सभाबाटै करको दायरा बढाई करको दर घटाउनु पर्ने बताउनु भयो । विद्युत मिटरका लागि टाढाको महेन्द्रनगर धाउनु पर्ने बाध्यता भएकाले नेपाल विद्युत प्राधिकरण संग सहकार्य गरी स्थानिय स्तरमै विद्युत मिटर उपलव्ध गराउनका लागि पहल गरिनु पर्ने उहाँले बताउनु भयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले जग्गा नापजाँचका लागि थोरै जनशक्तिले छिटो कार्य गर्न नसकिने भएकाले कर्मचारी थप्नका लागि जोडबल गरिने बताउनु भयो । नगर प्रमुख रण बहादुर महराले जग्गा नापजाँचको कार्य छिटो भन्दा छिटो गर्नका लागि आतुर रहेको चर्चा गर्दै तीन चार जना अमिन थपेर कार्य अगाडी बढाईने बताउनु भयो । भूमि आयोगका केन्द्रिय पदाधिकारीलाई भेटेर कुरा राखेको स्मरण गर्दै उहाँले कन्सल्टेन्ट नियुक्त गरेर र कार्य गर्न नहुने सुझाव पाईएको बताउनु भयो । “नारायणी पश्चिमबाट सेटेलाईटको माध्यमबाट नक्सांकन गर्ने कुरा आयोगका पदाधिकारीले जानकारी दिएकाले त्यसको पखाईमा छौं” उहाँले भन्नु भयो । “चार जना कर्मचारी छन” उहाँले भन्नु भयो, “एउटा मात्रै मेसिन छ, त्यसैले कार्य जुन गतिमा अगाडी बढनु पर्ने हो हुन सकेको छैन, नापी कार्यालय संग सल्लाह गरेर जनशक्ति थप्ने कार्य हुन्छ, समयमै जग्गा नापजाँचको कार्य गरी अव्यवस्थीत बसोवासीका हात हातमा लालपूर्जा दिन सके सन्देश राम्रै जान्छ ।” नगरपालिकाले हाल सम्म वडा नं ९ बाट जग्गा नापजाँचको कार्य शुरु गरेको छ । नगरपालिकाका सुचना अधिकारी मोहनराज फुलाराका अनुसार जग्गाको स्वामित्वका लागि अव्यवस्थीत बसोवासीका १० हजार ९५६ निवेदन संकलन भएका छन । भूमिहीन दलितका १७३, भूमिहीन सुकुम्बासीका १२४ निवेदन नगरपालिकाको भुमि शाखामा संकलन भएका छन ।







