विपन्नको आर्थिक अबस्था उकास्न व्यवसायीक कार्यमा नवकिरण सहकारीको ऋण लगानी


कञ्चनपुर : विपन्न परिवारको आर्थिक अबस्था उकास्नका लागि शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको नव किरण बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानी गरेको छ । सहकारीले रु तीन करोड ६० लाख ७५ हजार ९७१ रकम ऋण लगानी गरेको छ । मुक्त कमैंया, आरक्ष विस्थापीत, दलित र विपन्न समुदायका व्यक्तिहरुलाई संगठीत गरी एक दशक अघि गठन गरिएको सहकारीमा आवद्ध चार हजार २२० सदस्य मध्ये एक तिहाई सदस्यले ऋण लिएर आय आर्जनका कार्यक्रममा संलग्न भएका छन । सहकारीका अध्यक्ष धन बहादुर चौधरीका अनुसार व्यवसायीक कार्यका लागि रु एक करोड १२ लाख ८० हजार ९१०, कृषि कार्यका लागि रु एक करोड ९० लाख आठ हजार ८१६, कुखुरापालनका लागि रु १५ लाख ५० हजार ९००, बंगुरपालनका लागि रु १७ लाख ३० हजार ५००, शैक्षिक कार्यका लागि रु १० लाख १४ हजार ८०० र आकस्मीक कार्यका लागि रु १४ लाख ९० हजार रकम कर्जाका रुपमा लगानी गरिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहुलियत दरमा कर्जा लिई सहकारीमा आवद्ध बेरोजगार ५० युवालाई स्वरोजगार बनाउन कर्जा लगानी गरिएको अध्यक्ष चौधरीले बताउनु भयो । सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक अबस्था सुदृढ गर्नका लागि आगामी पाँच वर्ष (२०७९ देखि २०८३) सम्मका लागि नयाँ रणनीतिक योजना निर्माण गरि लागु गरिएको छ ।
“आवद्ध सदस्यहरुको आर्थिक अबस्थाको विश्लेषण गरी व्यवसायीक तालिम,व्यवसायीक योजना निर्माण गरी ऋण लगानी गर्ने योजना बनाएका छौं” अध्यक्ष चौधरीले भन्नु भयो, “पाँच वर्षको अबधिमा सहकारीमा आवद्ध सदस्यको आर्थिक अबस्था माथि उठाउने योजना अलम्बन गरेका छौं ।”

सहकारीमा आवद्ध सदस्यहरुलाई विना धितो रु दुई लाख सम्मको रकम कर्जाका रुपमा उपलव्ध गराईदै आएको उहाले बताउनु भयो । उहाँका अनुसार सदस्यहरुलाई सस्तो दरमा ऋण उपलव्ध गराई बचत रकममा बढी व्याज प्रदान गर्ने व्यवस्था गरिएको छ । संस्थाका सेयर सदस्यको निधन भएमा सहकारीका तर्फबाट रु १० हजार किरिया खर्च दिने गरिएको छ । ऋणको जोखिम कम गर्नका लागि निर्जिवन विमा गरिदै आएको छ । सहकारीमा आवद्ध कृष्णपुर नगरपालिका २ बाणिका मिना चौधरीले व्यवसायी तरकारी खेती गरी आर्थिक अबस्था सुदृढ हुदै आएको बताउनु भयो । “सहकारीबाट रु एक लाख ऋण लिएर व्यवसायीक रुपमा तरकारी खेती गरी वर्षमा रु तीन लाख जति आम्दानी गर्दै आएका छौं” उहाँले भन्नु भयो, सहकारीबाट लिएको ऋण उत्पादीत तरकारी बिक्री गरी आएको आम्दानीबाट एक वर्षमै तिर्न भ्याएका छौं ।” “विगतमा मजदुरीले जीविका चल्थ्यो, तरकारी खेती गरी आम्दानी गर्न सकिन्छ भन्ने जानकारी थियो, लगानीको रकम अभाव संगै आइडिया थिएन, त्यो सबै सहकारीबाट प्राप्त भयो, सहकारीमा आवद्ध हुदा जीवन सहज रुपमा चल्न थालेको छ” उहाँले भन्नु भयो । अमेरिकी सहयोग नियोग (युएसआइडी)को सहयोगमा सञ्चालन भैरहेको किसान परियोजना संग सहकार्य गरी चार वटा बाली(तरकारी, धान, मकै र मसुरो) उत्पादनको कार्यमा सघाउ पुरयाउने कार्य भैरहेको सहकारीका प्रवन्धक लक्ष्मी सेटीले बताउनु भयो । उहाँका अनुसार परियोजना अन्र्तगत ६४ वटा समुहमा एक हजार ६६१ सदस्य आवद्ध रहेका छन । गठन भएका १५ समुहलाई सिचाईका लागि स्यालो टयुवेल, बीउविजन, किटनासक लगायत उपलव्ध गराईएको छ । सहकारीमा रु दुई करोड नौ लाख ९० हजार ९३३ रकम बचत रहेको छ । सेयर पूजिँ रु ४३ लाख ८४ हजार ५०० रहेको छ । सहकारीले १४ दशमलव ५० देखि १५ प्रतिशत सम्म ऋण लगानी गर्दा व्याज लिने गरेको छ । सहकारीको कार्य क्षेत्र शुक्लफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा रहेको छ ।्


ताजा समाचार

spot_img