पप्पु गुरुङ्ग, दोधारा । माइती नेपाल कञ्चनपुरले एक वर्षमा मानव बेचबिखनमा परेका २२ जनालाई भारतबाट उद्धार गरेको छ् । आइतबार माइती नेपाल कञ्चनपुरले पत्रकार सम्मेलन गरी एक वर्षमा भारतका विभिन्न स्थानबाट २२ जनाको उद्धार गरेको जनाएको हो । माइती नेपालकी संयोजक महेश्वरी भट्टका अनुसार भारतको दिल्लीबाट ६ जना, पुनाबाट ४ जना, सिमलाबाट २ जना, हल्द्धानीबाट २ जना, मुम्बईबाट २ जना, हरियाणाबाट १, चण्डीगढबाट २, बैंगलोरबाट २ र अयोध्याबाट १ जनाको उद्धार गरिएको छ् । बालबालिका तथा महिला गरी २ सय ५ जनाको खोज तलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जस मध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ् ।


४२ वटा घरेलु हिंसाका निवेदन परेकोमा २७ वटाको समाधान गरिएको संयोजक भट्टले बताइन् । उनका अनुसार सीमा क्षेत्रबाट १ सय ५६ जनाको उद्धार गरिएको छ् । जसमा गड्डाचौकी सीमाबाट ८८ र झोलुंगे पुलबाट ६८ जनाको उद्धार गरिएको छ् । जसमा १८ वर्ष मुनिका बालबालिका ७५ जना रहेका छन् । उद्धार गरिएका मध्ये दुई वटा मात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको छ् । महिला तथा बालबालिका परिवारकै सदस्यबाट बेचबिखनमा पर्ने गरेको संयोजक भट्टले बताइन् ।

‘अधिकांस परिवारकै सदस्य तथा आफन्तबाट बेचबिखनमा परेको पायौं,’ उनले भनिन्, ‘रोजगारीको प्रलोभनमा पारेर भारतमा पुगाएका घटना धेरै छन्, सामाजिक सञ्जालको दुरुपयोगका कारण समेत मानबबेचबिखन बढाएको छ् ।’







