घरको औसत आयु कति बर्ष हुन्छ, आयु कसरी बढाउने ?

काठमाण्डौ : अहिले शहरमा मात्र होइन कि गाउँमा पनि घर बनाउँदा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गर्न थालिएको छ । माटो, ढुंगा/इटा र काठ प्रयोग गरी पुरानो प्रविधिबाट बनाइएका घरहरु हराउँदैछन् । देशैभर आधुनिक प्रविधि सिमेन्ट, डन्डी, गिट्टी, बालुवा प्रयोग गरेर आधुनिक कंक्रिटका घरहरु ठडिँदैछन् ।

पुरानो प्रविधिबाट बनाइएका घरहरुको आयु लामो हुन्थ्यो । दुई/तीन सय बर्षअघि बनाइका कतिपय घरहरु अझै पनि देख्‍न पाइन्छ । तर, कंक्रिटका घरहरुको आयु त्यति धेरै लामो नहुने इञ्‍जिनियर नृपेश तण्डुकार बताउँछन् ।

कंक्रिट घरको औसत आयु

जुनसुकै घरहरुको पनि समय वित्दै जाँदा संरचनात्मक शक्ति र चमक हराउँदै जान थाल्छ । त्यसमा पनि सिमेन्ट (आरसीसी) प्रविधिका घरको शक्ति चाँडै ढल्किन थाल्ने स्ट्रक्चरल इञ्‍जिनियर बताउँछन् ।

सामन्यतयाः घर निर्माणमा प्रयोग गरिने निर्माण सामाग्रीको गुणस्तर, निर्माण प्रकृया, जमिनको अवस्था लगायतले घरको आयु निर्धारण गरिदिन्छ । कुनै पनि घरको आयु यति नै भनेर ठोकुवा गर्ने आधार नभएको स्ट्रक्चरल इञ्‍जिनियर बताउँछन् ।

अन्तर्राष्‍ट्रिय अध्ययन अनुसार, कुनै पनि ठोस संरचनाको औसत आयु ७५ देखि १०० बर्ष हुन्छ । तर, कंक्रिटबाट ठडिएका अपार्टमेन्टको औसत आयु भने ५० देखि ६० बर्ष हुने बताइन्छ ।

व्यक्तिगत रुपमा बनाइने सिंगल कंक्रिट स्ट्रक्चरल घरको औषत आयु ५० बर्ष रहेको स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयाल बताउँछन् । कंक्रिट प्रविधिका निर्माण सामाग्रीहरुको आयु घट्दै जाने हुँदा यस्ता घरको आयु लामो नहुने उनको भनाई छ ।

केएसएम सर्भिसेजका सञ्‍चालक तण्डुकारका अनुसार सिमेन्टको आयु ७०/७५ बर्षजति हुने गर्छ । सिमेन्ट, डन्डी प्रयोग गरेर बनाइने कंक्रिट घरको आयु पनि ७०/७५ बर्षसम्मकै हुने उनको भनाई छ ।

पछिल्लो समय नेपालमा कोरियन प्रविधिको एसवाई प्यानलबाट सस्तो मूल्यमा घर बनाउने ट्रेन्ड पनि बढ्दो छ । कंक्रिट प्रविधिभन्दा निकै सस्तो मूल्यमा तयार हुने कोरियन प्रविधिका घरको औसत आयु पनि ५० वर्ष रहेको एसवाइ प्यानल कम्पनीका सिभिल इञ्‍जिनियर एवं मार्केटिङ म्यानेजर बिमलराज गोसाई बताउँछन् । उनका अनुसार, कंक्रिट (आरसीसी) प्रविधिका घरहरुको पनि औषत आयु ५०/६० बर्ष नै हो ।

सिमेन्टको आयुअनुसार आरसीसी प्रविधिका घरहरुको औषत आयु ५० बर्ष हुन्छ तर, स्ट्रक्चर निर्माण बलियो छ र नियमित मर्मत सम्भार गरियो भने घरको आयु ७०/७५ बर्षसम्म पनि लम्बिन सक्छ ।

घरको आयु किन हुन्छ ?

सामूहिक आवास क्षेत्र र अपार्टमेन्टको नियमित मर्मत सम्भार भइरहने हुँदा घर वा फ्ल्याटको आयु बढ्ने गरेको इञ्‍जिनियर बताउँछन् । त्यहाँ धेरै सेवा सुविधा साझा रुपमा प्रयोग हुन्छन् । सयौं परिवार बस्‍ने अपार्टमेन्टको भवन एउटै हुन्छ । उनीहरु त्यहाँ नियमित मर्मतसम्भार गर्छन् । तर, व्यक्तिगत घरको मर्मत सम्भारमा त्यति तदारुकता देखाइँदैन । त्यसैले पनि व्यक्तिगत घरहरु नियमित मर्मत सम्भारको अभावले चाँडै कमजोर हुने गरेको इञ्‍जिनियरहरुको भनाई छ ।

घर एक संरचना हो, जुन विभिन्‍न तत्वहरुको संयोजनबाट बनेको हुन्छ । र, ती तत्वहरुको आयु समयसँगै छट्दै जान्छ । जस्तो कि पर्यावरणीय प्रभाव, मानव उपयोग, खराब डिजाइन, गुणस्तरहीन निर्माण सामाग्री, कमजोर भु–धरातल लगायतले गर्दा घरहरु छिटो कमजोर हुँदै जान्छन् ।

घर डिजाइन तथा निर्माण कम्पनी घरकर्मका सञ्‍चालक इञ्‍जिनियर सन्तोष पुडासैनी का अनुसार प्राकृतिक निर्माण सामाग्री माटो, ढुँगा, राम्रो काठको आयु धेरै बर्ष हुने गर्छ । त्यसैले सय बर्ष पुराना घरहरु पनि उस्तै बलिया हुन्छन् । तर, मान्छेले बनाएका आधुनिक निर्माण सामाग्रीहरु सिमेन्ट र डन्डीको एउटा निश्‍चित आयु हुन्छ । त्यो समय पुगेपछि सिमेन्ट कमजोर बन्दै जान्छ । सिमेन्ट कमजोर हुनु भनेको घर नै कमजोर बन्दै जानु हो । त्यसैले आरसीसी प्रविधिका घरहरुको औषत आयु ५० बर्ष रहेको उनको तर्क छ । तर, स्ट्रक्चर निर्माण बलियो बनाउनुका साथै नियमित मर्मत सम्भार गरिरहेमा कुनै पनि घरको आयु ७०/७५ बर्षसम्म पनि लम्बिने सिभिल इन्जिनियर बताउँछन् ।

कंक्रिटका संरचनाको आयु कम र ढुंगा, माटोबाट बनाइएका संरचनाको आयु बढी किन ? घरकर्मका एक सदस्यका अनुसार, ढुंगा, माटो, काठ लगायत प्राकृतिक सामाग्री हुन् । प्रकृतिले आफै सिर्जना गरेका वस्तुहरुलाई तत्कालै बिगार्न सक्दैन । माटोबाट राम्रोसँग पकाएर बनाइएका इँटा, माटो र ढुंगाको संरचना, अग्राख, सालजस्ता बलिया काठहरुको आयु लामो हुने उनको भनाई छ ।

तर, सिमेन्ट, डन्डी, युपिभिसी, आल्मुनियम, फेब्रिक लगायत मान्छेले प्राकृतिक वस्तुमा केमिकल हालेर तयार पारेका आधुनिक निर्माण सामाग्री हुन् । घरकर्मका ती सदस्यका अनुसार केमिकलको क्षमता (शक्ति) निश्‍चित समयपछि कम हुँदै जान्छ फलस्वरुप सिमेन्ट र डन्डीको आयु घट्दै जान्छ । आरसीसी प्रविधिका प्रमुख निर्माण सामाग्री (खम्बा) को आयु घट्दै जान थालेपछि घर पनि कमजोर हुँदै जाने स्वभाविक भइहाल्यो । तर, ढुंगा, माटो र काठमा केमिकल प्रयोग गरिएको हुँदैन । प्रकृति वस्तुबाट बनाइएका संरचनालाई प्रकृतिले तत्काल बिगार गर्न नसक्ने हुनाले पनि आयु बढी हुने गरेको उनको तर्क छ ।

घरमा पानीको पाइपलाइन, बिजुली केबलहरु र झ्याल, ढोका लगायत सधै उपयोग गनुपर्ने चिजहरु हुन् । नियमित प्रयोग भइरहँदा समयक्रमसँगै जीर्ण हुँदै जान्छन् । यदि घर चुहिने भएमा चाँडै जिर्ण हुन सक्छ । भूकम्प लगायत प्रकृतिक विपत्तीले पनि घर चाँडै जिर्ण वा भत्किन सक्छ ।

घरको आयु कसरी बढाउने ?

कुनै पनि घरको नियमित मर्मत सम्भार गरिरहेमा आयु बढाउन सकिने केएसम सर्भिसेजका सञ्‍चालक तण्डुकार बताउँछन् । नियमित मर्मत सम्भार गर्दा घरको आयु १० देखि २० प्रतिशतसम्म बढाउन सकिन्छ ।

स्ट्रक्चरल इञ्‍जिनियरहरुले घरको आयु बढाउने केही केही उपायहरु सुझाएका छन् जुन तपाईंका लागि उपयोगी हुन सक्छ ।

नियमित सरसफाई, फोहोरको उचित व्यवस्थापन र फोहोर सामाग्रीहरुको डिस्पोजल धेरै महत्वपूर्ण हुन्छ ।
फर्निचर मर्मत र नियमित सफाई अनिवार्य छ । घरको भित्ताहरु, पर्खाल लगायत वार्षिक रुपमा चेकजाँच गर्नुपर्छ ।
भवन निर्माण कार्यमा मौसमको स्थितीको एक महत्वपूर्ण भुमिका हुन्छ । धेरै वर्षा हुने क्षेत्रहरुमा कंक्रिट संरचनामा धेरै समस्याहरु आउन सक्छन् । भवनमा पानी पस्यो भने भवनको संरचनामा चाँडै कमजोर हुन सक्छ । त्यसैले घरमा पानी नपस्ने गरी निर्माण गर्नुपर्छ । घरमा ओसिलोपन आउन दिनु हुँदैन ।

तपाईंले घर बनाउँदा अनुभवी आर्किटेक इञ्‍जिनियरसँग घरको डिजाइन तयार पार्नुपर्छ । र, घरको डिजाइन अनुसारकै गुणस्तरीय निर्माण सामाग्रीहरु प्रयोग गर्दा घरको औषत आयु बढाउन सकिन्छ । आधुनिक प्रविधिका निर्माण सामाग्रीहरु प्रयोग गर्नुभन्दा स्थानिय रुपमा निर्माण भएका सामाग्रीहरु प्रयोग गर्नाले घरको औसत आयु बढाउन सक्छ । जस्तो कि, युपिभिसी, आल्मुनियम झ्याल ढोकाको सट्टा अग्राखका काठको झ्याल ढोका राख्दा घर बलियो हुन्छ ।
निर्माण प्रक्रियामा सही सामाग्रीहरुको उपयोग गरेमा संरचनाको औसत आयु बढाउन सकिन्छ । नियमित मर्मत, उचित हेरचाह गर्नुभयो भने घर वषौँ सम्म टिक्छ ।

घरको बाहिरी भागमा कलर लगाउँदा पनि घर बलियो हुन्छ । पछिल्लो समय वाटर प्रुफ, वेदर फ्रुफ कलर पाउन थालिएको छ जसले घरलाई घाम पानीबाट बचाउन सक्छ ।

साभार: प्रकाश दत्त भट्टकाे फेसबुक पेजबाट

ताजा समाचार

spot_img