धिरेन्द्र भट्ट/कंचनपुर : कंचनपुर निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद दिपक प्रसाद भट्टले कंचनपुरको मजगाउँ विमानस्थलको भोगचलनमा रहेको जग्गा नेपाली सेनाबाट फिर्ता ल्याई काम संचालन गराउन माग गरेका छन। बिहीवार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टले सेनाले मजगाउँ विमानस्थलको भोगचलनमा रहेको जग्गा विमानस्थल निर्माणको काम सुरु भइसकेपछी २०७५ साल मंसिर २७ मा आफ्नो नाममा लालपुर्जा लिएको भन्दै उक्त जग्गा तत्काल काम संचालनको लागि फिर्ता गराउन माग गरे।

‘मजगाउँ विमानस्थल संचालन गर्नका लागि स्थानिय तहबाट भिमदत्त नगरपालिकाले १५, दोधारा चादनी नगरपालिका ले १० तथा प्रदेश सरकारले २५ प्रतिशतको सह-लगानिमा विमानस्थल संचालन गर्ने भनेर काम अगाडि बढेको छ।’ उनले भने, आम जनतासितको दुरि बढाउने र अन्य सरकारी निकायहरूको पनि जग्गा यसरी हडप्ने हो भने नेपाली सेना जनताबाट टाढिदै जानेछ।’ अहिले प्रधानमन्त्री नै रक्षा मन्त्री रहेकोले तुरुन्त विमानस्थल निर्माण संचालनको लागि जग्गा फिर्ता गराउन प्रधानमन्त्री सङ्ग माग गरे। उक्त विमानस्थल २०३४ सालदेखि २०५७ सालसम्म संचालनमा रहदै आएको थियो। तर माओवादी द्वन्द्वकाल देखी उक्त विमानस्थल अस्तव्यस्त भइ गैचरण को रुपमा रहेको छ।











