महेन्द्रनगर : कैलालीको कैलारी गाउँपालिकामा तीन दिन विदा दिने निर्णय गरिएको छ । थारु बहुल कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।

माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यसै गरी नयाँ वर्ष पनि । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिदैं आएको थियो । माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ ।











