सुप विश्वविद्यालय बिरुद्ध प्राध्यापक नै आन्दोलनमा


कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय बिरुद्धमा प्राध्यापक नै आन्दोलित भएका छन । उत्तम थापा नेतृत्वको विश्वविद्यालय प्राध्यापक संघका प्राध्यापक आन्दोलित भएका हुन । प्राध्यापक संघकै ब्यानर लगाएर उनीहरु केन्द्रीय कार्यालयमा रिले अनसनमा बसेका छन । विश्वविद्यालयमा विद्यमान गतिरोध अन्त्य गरी समायोजन तथा प्राध्यापकको वृति विकाससंग सम्बन्धीत सम्पूर्ण प्रक्रिया तत्तकाल कार्यान्वयनको माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन । यस अघि विद्यार्थी संघ संगठनले विश्वविद्यालयमा बेथिति मच्चिएको भन्दै तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका थिए । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले–समाजवादी निकट अनेरास्ववियू तीन वटै विद्यार्थी संघ संगठनले छुट्टाछुट्टै रुपमा विश्वविद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन ।
क्रान्तिकारीले सुुप विश्वविद्यालय केन्द्रीय क्याम्पस, समाजवादी निकट अनेरास्ववियूले उपकुलपति डा.अमराज जोशी र एमाले निकट अनेरास्ववियुले केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन । विद्यार्थी संगठनको आन्दोलन चलिरहेकै बेला प्राध्यापक संघले समेत आन्दोलन गर्दा विश्वविद्यालय आन्दोलनको आँखडा बनेको छ । सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले ९ औँ सिनेटले आफुलाई गुमराहमा राखेको बताए । उनले आफुलाई गुमराहमा राखेर गरिएका निर्णय प्राध्यापक कर्मचारी बिरुद्धका भएको बताउदै बाध्य भएर आन्दोलनमा उत्रिएको बताए । प्राध्यापक संघका सभापति भएकाले थापा पनि सिनेट बैठकमा सहभागि थिए । उनले आफुलाई सिनेट शुरु हुनुभन्दा ५ मिनेट अघि मात्रै एनेण्डा दिएको बताए । ‘एजेण्डामा मेरो सहमती छैन, ‘उनले भने, ‘मेरो सहमती बिरुद्धमा निर्णय गरिएका छन ।’
एजेण्डा अध्ययन गर्ने मौका नै नदिएर आफुलाई समेत कार्यकारीले गुमराहमा राखेको उनको आरोप छ । सिनेटका निर्णय अपादर्शी र गलत भएको उनको टिप्पणी छ । आफैले सिनेट बैठकमा सहभागि हुने महिनादिन पछि आएर निकट प्राध्यापक उस्काएर आन्दोलन गर्ने भन्दै थापाकै सहकर्मीले उनको आलोचना गरिरहेका छन । प्राध्यापक संघका महासचिव खेमराज सुवेदीले पदाधिकारीले आफुहरुमाथि अन्याय गरेको भन्दै त्यस बिरुद्धमा आन्दोलित भएको बताए । आफुहरु कुनै भागबण्डाका लागि नभई अन्याय बिरुद्धमा आन्दोलित भएको उनको भनाई छ । विश्वविद्यालयमा भईरहेको किचलो र भागबण्डा पदको लडाई देखेर स्थानीय समेत ढिक्क भएका छन । स्थानीयले विद्यार्थीको माग जायज भएपनि शिक्षक कर्मचारी नै विश्वविद्यालय बिरुद्धमा गरिरहेको आन्दोलन हाँस्यास्पद भएको टिप्पणी गरिरहेका छन । यस क्षेत्रका जनताको संघर्षबाट आएको विश्वविद्यालयमा केही शैक्षिक माफिया समुहले कब्जा गर्दै आफ्नो निहित स्वार्थपूर्तिको केन्द्र बनाएको स्थानीयको बुझाई छ ।
आफुले भाग पाँउदा सबैठिकठाक नपाउँदा सबै चुपचाप गर्ने प्रवृतिले विश्वविद्यालयका शिक्षक, कर्मचारी, आम विद्यार्थीको हित भन्दा व्यक्तिवादी चरित्र प्रस्तुत भएको बुद्धिजिवीको विश्लेषण छ । सुप विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठकले सिनेटकै बैठकमा सहभागि भएर निर्णय सदरमा सहिछाप गरेका व्यक्ति नै आन्दोलनमा उत्रिनु लज्जास्पद भएको बताए । ‘कसैलाई गुमराहमा राखेर निर्णय गरेका होईनन, ‘उनले भने, ‘निर्णयमा सबैको सहभागिता थियो ।’ सिनेट हुनु अघि सबै एजेण्डामा प्राध्यापक संघका सभापति उत्तम थापा सहितको सहभागितामा छलफल भएर नै निर्णय पारित भएको बताउदै उनले कसै व्यक्तिको विषयमा आफुले केही भन्न नहुने बताए । विश्वविद्यालय ९औँ सिनेटले गरेका निर्णय सार्वजनिक नगर्दा नागरिक समेत शंककित भएका छन । विश्वविद्यालयबाट पत्रकार सम्मेलन गरेरै भएपनि निर्णय सार्वजनिक गरेर पारदर्शीता प्रस्तुत गर्नुपर्ने नागरिक समाजको सुझाव छ ।

ताजा समाचार

spot_img