कञ्चनपुर :पन्ध बर्ष अघि महाकाली सिँचाई तेस्रो चरणको नहर निर्माण कार्य शुरु गरिएको थियो, सो अवधिमा जम्मा १३ किलोमिटर मात्रै मुल नहर निर्माण भएको छ । बाँकी नहर बनाउनेक्रम जारी छ । आर्थिक बर्ष २०६३/०६४ देखि शुरु गरिएको नहर १० बर्ष लगाएर आर्थिक बर्ष ०७३/०७४ मा भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि बेदकोट नगरपालिका ७ मुसेपानीसम्म निर्माण सम्पन्न गरियो । मुसेपानीदेखि पुर्वतिर थप नहर निर्माण कार्य जारीछ । महाकाली तेस्रो चरणलाई गौरबको योजनामा राख्दा समेत उही गतिमा अघि बढेको छ ।
कञ्चनपुरको ब्रम्हदेबदेखि कैलालीको मालाखेतीसम्म मुल नहर मात्रै १ सय ५२ किलोमिटर निर्माण गर्नुपर्ने हो । यही गतिमा निर्माण भएपनि मुल नहर मात्रै निर्माण गर्न करिब १ सय २० बर्ष समय लाग्ने देखिन्छ ।दशक लगाएर निर्माण भएको मुल नहरमा पानी छैन् । बरु सानादेखि ठुलठुला विभिन्न प्रजातिका रुखबिरुवा आफै उम्रीएका छन् । नहरको हो, कि नर्सरी चिन्न पनि सकिने अवस्थामा छैन् । निरन्तर पानी नहुँदा बिरुवा नहरमा बिरुवा उम्रिएका छन् । स्थानीयले नहर निर्माण हुँदा जन्मिएको मान्छे प्राकृतिक रुपमा सय बर्ष बढि बाँचेर मृत्यु हुँदासम्म पनि नहर बन्ने छाटकाँट नदेखिएको बताएका छन् । भीमदत्त नगरपालिका ७ हल्दुखालका स्थानीय सुवर्ण प्रशाद जोशीले नहर निर्माण कार्य औधी ढिलासुस्ती भईरहेको बताए । ‘नगर निर्माण हुँदा जन्मिएको बच्चा अहिले १५÷१६ बर्षको भईसक्यो, किसानको उमेरमा पनि पुगिसक्यो, तर नहर पुरै बन्न सकेको छैन, बनेको नहरमा पनि बिरुवाले भरिभराउ जंगल भएको छ ।’ बिरुवाले भरिभराउ नहरमा जराका कारण नहरको संरचना समेत कमजोर हुने उनले चिन्ता व्यक्त गरे ।

बेदकोट नगरपालिका ८ गाउजीका स्थानीय अगुवा महेश जोशीले नहर बन्न ढिलाई भईरहेको चिन्ता व्यक्त गरे । ‘यो नहर बन्दासम्म गाउँपुरै शहरमा परिणत होला जस्तो भईसक्यो, तर पनि समयमै बन्ने छाटकाँट छैन् ।’ नहर निर्माण भएको उत्तरी भेगतिरको किसानले पानी नपाउने समस्या उनले दर्शाए । ‘छेउमै नहर बन्यो, तर उत्तरतिर थप उचो जमिन छ, ‘उनले भने, ‘पानी चढ्ने होईन ।’ चुरेको फेदैफेद भएर नहर बनाउनुपर्ने उनको धारणा छ ।भारतीय पक्षले (एनएचपीसी)ले टेण्डर आब्हान गरेर मुल नहर निर्माणका लागि टनकपुर ब्यारेजदेखि ब्रम्हदेबसम्मको जंगलमा लाईनिङ्ग गरिरहेको छ । नहर क्षेत्रमा पर्ने झाँडीका साथै रुख हटाईरहेको महाकाली सिँचाई तेस्रो चरणले जनाएको छ । महाकाली तेस्रो चरणका सूचना अधिकारी मोहनराम टेलरले नहरको काम निरन्तर जारी रहेको बताए । ‘भारततर्फ पनि काम भईरहेका छ, ‘उनले भने, ‘नेपाल तर्फ पनि भईरहेको छ ।’ उनका अनुसार नेपाल तर्फ आउने मुल नहरमा बालुवा छान्ने मेसिन, शाखा नगरका लागि टेण्डर प्रकृया अघि बढेको छ । मुआब्जाका साथै फुलेलिदेखि मोहनासम्म सर्वेको काम भईरहेको छ ।







