कञ्चनपुर,
सुदूरपश्चिम प्रदेश कैलालीको स्टार सिटी युवा क्लबले नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिगमा १० अंक सहित आफ्नो अग्रता कायमै राखेको छ ।

सोमबार भएको खेलमा धादिंग समाज धादिंगलाई १–१ को बराबरीमा रोक्दै स्टार सिटिले १० अंक जोडेको छ । खेलको ५३ औँ मिनेटमा धादिंगका उमेश राईले पहिलो गोल गरेका थिए, स्टार सिटिले ९२ मिनेटमा गोल गर्दै खेल बराबरीमा रोकेको हो ।

आज जितसँगै स्टार सिटि १० अंक सहित अंकतालीकाको शिर्ष स्थानमा छ भने, ७ अंक सहित धादिङ समाज दोस्रो स्थानमा छ । यस्तै त्रिवेणी युवा क्लव लमजुङ र धम्बोजी स्पार्टस क्लव बाँकेले ६∕६ अंक जोडेका छन् ।

सैनिक फुटबल क्लव झापाको ४ अंक जोडेको छ भने लेकाली युवा क्लव जुम्लाको १ अंक छ । यता मनकामना युवा क्लव रौतहट भने अंक बिहिन छ ।

यस्तै आजै भएको अर्को खेलमा झापाको सैनिक फुटबल क्लबले धम्बोझी युवा क्लब बाँकेलाई ३–२ ले हराएको छ । खेलको ५ मिनेटमै धम्बोजीका पुर्णबहादुर गुरुंगले पहिलो गोल गरे ।
झापाका लागि खेलको २० मिनेटमा सुनिल खड्काले, शुशिल लामाले ३३ र जिवन गुरुङले ४८ मिनेटमा गोल गरेका थिए । यस्तै धम्बोजीका लागि बिसन गुरूङले ८० मिनेटमा गोल थपेका थिए ।
प्रेसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउने छन् । प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।







