महेन्द्रनगर: महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

पश्चिमपाटीको आयोजनामा गरेको उक्त प्रतियोगिताको बैशाख १८ गते शुक्रवार बिहान सात बजे कञ्चनपुरका मुख्य जिल्ला न्यायशीध राजेन्द्र भण्डारीले उद्घाटन गर्नुभएको हो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले बताउनु भयो।
उनका अनुसार, कैलाली कञ्चनपुर गरी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका ८० वटा टीम बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पुर्याउने लक्ष्य राखेको संयोजक सिंहले बताए । “खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटाको बाह्रसिंगाको प्रवद्र्धनका लागि प्रतियोगिताले टेवा पुगाउने र प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिताले खेल र पर्यटनमा प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएका छौ ।”
प्रतियोगिताको ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५ र तृतीय हुने टिमले रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउने छन ।







