महेन्द्रनगर: कञ्चनपुर जिल्लामा फुटबल विकासलाई प्राथमिकता दिँदै ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिएको छ।

बैशाख १२ गते शनिबार अखिल नेपाल फुटबल संघ को वार्षिक कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्ला फुटबल संघ को आयोजनामा उक्त कार्यक्रम सुरु गरिएको हो। प्रत्येक सनिवार ग्रासरुट फुटबलका कार्यक्रम गरिने छन्।

महेन्द्रनगरस्थित खुलामञ्च महेन्द्रनगर मा आयोजित कार्यक्रममा यू–१४ वर्ष मुनिका बालबालिकालाई अभिभावकमार्फत फुटबल हस्तान्तरण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको संघका महासचिव नितेश रावल ले जानकारी दिनुभयो।

कार्यक्रममा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई विशेष प्राथमिकता दिइएको छ। साथै ६–८ वर्ष उमेर समूहका बालबालिका, अभिभावक, खेलप्रेमी, खेलाडी तथा फुटबल संघका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
जिल्लाभर फुटबलको आधार मजबुत बनाउन कञ्चनपुरका ९ वटै स्थानीय तहसँग समन्वय गरी गाउँ–गाउँमा ग्रासरुट कार्यक्रम विस्तार गर्ने योजना रहेको महासचिव रावलले बताउनुभयो।
बालबालिकामा खेलप्रतिको रुचि अभिवृद्धि गर्दै जिल्लामा फुटबलको समग्र विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।






