महाकाली सामुदायिक वनद्वारा विद्यालयमा प्रतिक्षालय निर्माण


कञ्चनपुर: कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहले महाकाली नमूना माध्यमिक विद्यालय, बसन्तपुरमा प्रतिक्षालय निर्माण गरी आज हस्तान्तरण गरेको छ । विद्यालयमा आउने आगन्तुक तथा अभिभावकलाई विश्रामका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले सामुदायिक वनले वार्षिक कार्ययोजना अन्तर्गत रु दुई लाख १६ हजार सात सय ६९ को लागतमा प्रतिक्षालय निर्माण गरेको हो ।

सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशीले वडा अध्यक्ष बाबुराम चौधरीको उपस्थीतिमा निर्माण सम्पन्न प्रतिक्षालय आज एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिनप्रसाद दहितलाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाबुराम चौधरीले सामुदायिक वनले वातावरण संरक्षणसँगै सामाजिक उत्तरदायित्वका कार्यमा देखाएको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता पूर्वाधारले विद्यालयको शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिनप्रसाद दहितले प्रतिक्षालय निर्माणबाट विद्यालय आउने अभिभावक, अतिथि तथा सेवाग्राहीलाई ठूलो राहत पुगेको उल्लेख गर्दै सामुदायिक वनप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । त्यस्तै, सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशीले उपभोक्तामुखी तथा समाजमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग विस्तार गरिँदै जाने बताउनुभयो । उहाँले सामुदायिक वनले केवल वन संरक्षणमा मात्र सीमित नरही सामाजिक विकासका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएको स्पष्ट पार्नुभयो ।.

सामुदायिक वन उपभोक्ता समूहले यसअघि सडक स्तरोन्नति, मठ–मन्दिर निर्माण जस्ता कार्यहरू गर्दै आएको छ । साथै, उपभोक्ताको आयआर्जन वृद्धि गर्ने उद्देश्यले कोष स्थापना गरी न्यून ब्याजदरमा ऋण प्रवाह गर्दै आयस्तर उकास्ने पहलसमेत गर्दै आएको छ । सीपमुलक तालिम प्रदान गरी उपभोक्तालाई स्वरोजगार बनाउने कार्यमा सामुदायिक वनको महत्वपूर्ण योगदान रहेको छ ।


ताजा समाचार

spot_img