सुदूरपश्चिमका चार स्रष्टा भारतको राजधानीमा सम्मानित


कञ्चनपुर : सुदूरपश्चिमको भाषा, साहित्य, कला एवं संस्कृति श्रीवृद्धिमा विगत लामाे समयदेखि क्रियाशील सुदूरपश्चिम नेपालका चार स्रष्टाहरू भारतको राजधानी नयाँदिल्लीमा सम्मानित भएका छन् । कञ्चनपुरलाई कर्मथलाे बनाएर कञ्चनपुरका विभित्र स्थान तथा दार्चुला, बैतडी लगायतका सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत अन्तर्राष्ट्रिय साहित्य सम्मेलन एवम् काव्यगाेष्ठी सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका युवा साहित्यकार तथा मानसखण्ड गुरुकुलका प्रबन्ध निर्देशक हेमबाबु लेखक, सुदूरपश्चिमका विभिन्न स्थानमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनहरूमा देशविदेशका साहित्यकारहरू जमघट गराउन भूमिका निर्वहन गरिरहनु भएका साहित्यकार तथा मानसखण्ड फाउन्डेसनका पूर्व अध्यक्ष रमेश पन्त मीतबन्धु भारतकाे नयाँदिल्लीमा भारत-नेपाल साहित्य गाैरव सम्मानबाट सम्मानित भएका छन् ।

त्यसैगरी शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याउनु भएका जानकी कन्या मावि कञ्चनपुरका प्रधानाध्यापकबाट सेवानिर्वित्त संविधानसभा सदस्य तथा साहित्यकार माननीय आनन्दी पन्त एवं कैलालीको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्याइरहनु भएका साहित्यकार तारा पल्लवी समेत गाैरव सम्मानबाट सम्मानित भएका छन् । सुर साहित्य परिषद् र हंसराज कलेज दिल्ली विश्वविद्यालयकाे संयुक्त तत्वाधानमा आयोजना गरिएको बार्षिकाेत्सव, पुस्तक विमाेचन तथा स्रष्टा सम्मान समाराेहमा उहाँहरू सम्मानित हुनुभएको हाे । उक्त कार्यक्रममा रमेश पन्त मीतबन्धु द्वारा लिखित लघुकथा सङ्ग्रह भाकल र डा. संजय जैनद्वारा लिखित रामलीला मन्थन नामक पुस्तकहरू विमाेचन गरिएका थिए ।

त्यसैगरी उल्लेखित चार स्रष्टाहरूलाई ओमप्रकाश प्रजापति सम्पादक तथा सञ्चालक रहेकाे १३० भन्दा बढी साहित्यकारहरूकाे बिशेषांक समेत प्रकाशित गरिसकेको ट्रू मिडिया गाजियावादले समेत सम्मानित गरेको छ । नेपालकाे सुदूरपश्चिमका स्रष्टाहरू भारतकाे राजधानीमा सम्मानित हुनु आफैमा गर्वकाे विषय भएको र कञ्चनपुरका स्रष्टाको दिल्लीमा कृति विमाेचन हुनु झन गाैरवकाे बिषय हाे । यसरी साहित्य सेवामा समर्पित स्रष्टाहरूबाट आगामी दिनमा अझबढी गुणात्मक कार्यक्रमहरूकाे आयोजना हुनेकुरामा विश्वास गर्न सकिन्छ ।


ताजा समाचार

spot_img