शुक्लाफाँटामा कक्षा ८ को नतिजा सुधारोन्मुख, शैक्षिक सुधारका कार्यक्रम प्रभावकारी


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा पछिल्ला वर्षहरूमा सुधारोन्मुख देखिएको छ । शिक्षा क्षेत्रमा गरिएको लक्षित हस्तक्षेप, नियमित अनुगमन र उत्तरदायित्वमुखी अभ्यासले नतिजामा सकारात्मक प्रभाव परेको हो । नगरपालिकाको तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८० मा कक्षा ८ को नतिजा ३९ दशमलव ६ प्रतिशत रहेकोमा ग्रेडवृद्धिसहित ७१ प्रतिशत पुगेको थियो । शैक्षिक सत्र २०८१ मा मूल नतिजा ५७ दशमलव ३ प्रतिशत र ग्रेडवृद्धिसहित ८२ दशमलव ७ प्रतिशत पुगेको थियो । चालु शैक्षिक सत्र २०८२ मा पनि सुधारको क्रम जारी रहँदै मूल नतिजा ६१ दशमलव ५६ प्रतिशत पुगेको छ। आगामी वैशाख ६ गतेदेखि हुने ग्रेडवृद्धि परीक्षापछि समग्र नतिजा अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

शिक्षा अधिकृत सुरेशप्रसाद भट्टका अनुसार विषयगत र राहत शिक्षक व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन, शिक्षकहरूको पेशागत तालिम तथा विज्ञ शिक्षकमार्फत नमूना कक्षा सञ्चालनजस्ता कार्यक्रमले सिकाइ उपलब्धिमा प्रत्यक्ष सुधार ल्याएको छ। “नियमित पृष्ठपोषण र सिकाइ सहयोगका कारण विद्यार्थीको आधारभूत अवधारणा बलियो बन्दै गएको छ,” उहाँले भन्नुभयो। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार विद्यालय अनुगमनलाई नियमित बनाइनु, प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गरिनु तथा शिक्षक–प्रधानाध्यापक दुवैलाई उत्तरदायी बनाउने अभ्यासले शैक्षिक वातावरणमा सुधार आएको छ । “पढाइ सुधारका लागि लक्ष्यसहितको कार्यान्वयन र निरन्तर मूल्याङ्कनले नतिजामा प्रभाव देखिएको हो,” उहाँले बताउनुभयो । यस वर्षदेखि परीक्षालाई थप निष्पक्ष र पारदर्शी बनाउन उत्तरपुस्तिकाको ‘कोडिङ’ प्रणालीमार्फत परीक्षण गर्ने व्यवस्था गरिएको छ । यसले मूल्याङ्कन प्रक्रियामा पक्षपात घटाउने र विद्यार्थीको वास्तविक उपलब्धि मापन गर्न सहयोग पुगेको विश्वास उहाँले व्यक्त गर्नुभयो । परीक्षा सम्पन्न भएको तीन दिन भित्रै नतिजा प्रकासन गरिएको उहाँले जानकारी दिनु भयो ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेश बहादुर ऐरका अनुसार केवल परीक्षा नतिजा बढ्नु मात्र पर्याप्त होइन, सिकाइको गुणस्तर र दीर्घकालीन दक्षता विकास पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नीतिगत प्रयास, शिक्षक क्षमता विकास र जवाफदेहिताको संयोजनले विद्यालय शिक्षा सुधार सम्भव रहेको उहाँले उल्लेख गर्नु भयो । “नगर क्षेत्रमा संस्थागत विद्यालयको नतिजा सामुदायिक विद्यालयको भन्दा राम्रो देखिएको छ” उहाँले भन्नुभयो, “संस्थागत र सामुदायिक विद्यालय विचको शिक्षाको खाडल पुर्नका लागि सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि दत्तचित्त भएर कार्य अगाडी बढाउन तत्पर भएर लाग्छौं ।” उहाँका अनुसार, आगामी दिनमा पनि सिकाइ केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने, कमजोर विद्यार्थीका लागि लक्षित सहयोग विस्तार गर्ने र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिने योजना रहेको छ । चालु शैक्षिक सत्रमा नगर क्षेत्रका संस्थागत र सामुदायिक गरी ३७ विद्यालयका विद्यार्थी कक्षा ८ को नगर स्तरीय परीक्षामा सहभागी भएका थिए ।


ताजा समाचार

spot_img