महेन्द्रनगर : कञ्चनपुरमा बालविवाह अन्त्य गर्न सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको छ । पेसवानको आयोजना र प्लान ईन्टर नेसनलको सहयोगमा जिल्लामा रहेका विभिन्न संचार क्षेत्रमा आवद्ध रहेका संचारकर्मीहरु संग रहेर उक्त कार्यक्रम सम्पन्न भएको हो । उत्थानशिल भविष्य, बालविवाहको अन्त्य परियोजना मार्फत रहेर बालविवाह न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका के कस्तो रहने ? कसरी यो विषयलाई उठान गर्ने ? यस विषयका सवाल विषयमा छलफल भएको थियो । संस्थाका अध्यक्ष डा. तिलमाया ढकाल खरेलले बालविवाह समाजको गम्भीर समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने बताउनु भयो ।

उहाँले बालविवाहले बालबालिका घरपरिवारको भविष्य अन्धकार बनाउने भएकाले यस विरुद्ध जनचेतना फैलाउनु अत्यन्त आवश्यक रहेको धारणा राख्नु भयो । उहाँले यो विषयमा सञ्चारकर्मीहरूको भूमिका विशेष महत्वपूर्ण रहेको बताउँदै सही सूचना, तथ्यमा आधारित समाचार तथा सचेतनामूलक सामग्री प्रसारण गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनु भयो । उहाँले पेसवानले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । वालविवाह विषेश गरेर गरीबी, लैङगीक असमानता, शिक्षाबाट बञ्चित, सामाजिक परम्परा, सामाजिक संजालको दुरुपयोगलगायतका विषयहरुले गर्दा बढेको सहभागीहरुले बताएका थिए । संचारकर्मीहरुले यो विषयमा रहेर समाधानमुखी समाचार तयार पार्ने, पीडितमैत्री कथन शैलीको प्रयोग गर्ने, बालविवाह रोकथामका प्रयाशहरुलाई उजागर गर्ने, हेल्पलाईनका विषयमा जानकारी प्रदान गर्ने जस्ता कार्यहरु गरीनु पर्ने विषय उठान भएका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले यसलाई अन्त्य गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । उनीहरूले सचेतनामूलक समाचार, लेख तथा कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउन सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे । अन्तरक्रियामा बालविवाह न्यूनीकरणका लागि भइरहेका प्रयास, चुनौतीहरू तथा आगामी योजनाबारे पनि छलफल गरिएको थियो । सहभागी सञ्चारकर्मीहरूले बालविवाह विरुद्ध सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।







