कञ्चनपुर- ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर माइती नेपाल कञ्चनपुरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी जनचेतनामूलक घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।

उक्त दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “Rights. Justice. Action. For All Women and Girls” तथा राष्ट्रिय नारा “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर” लाई आधार बनाएर कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका–१ स्थित स्याउले बजारका ६५ घरधुरीमा घरदैलो गर्दै स्थानीय समुदायलाई मानव बेचबिखन तथा ओसारपसारका जोखिमबारे जानकारी गराइएको थियो। उक्त क्षेत्र खुला सीमा नाकासँग जोडिएको भएकाले महिला तथा बालबालिकालाई लुकीछिपी भारततर्फ लैजाने सम्भावना बढी रहने हुँदा यसलाई न्यूनीकरण गर्न समुदायमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको माइती नेपालले जनाएको छ।

घरदैलोका क्रममा पर्चा, पम्प्लेट तथा ब्रोसर वितरण गर्दै सुरक्षित बसाइँसराइ, लैङ्गिक हिंसा, यौन हिंसा तथा मानव बेचबिखनका विभिन्न स्वरूपबारे जानकारी दिइएको थियो। साथै यस्ता अपराधबाट बच्न अपनाउनुपर्ने सावधानी, सुरक्षित आवतजावतका उपाय तथा अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दालाई मानव बेचबिखनजस्तो जघन्य आपराधिक गतिविधिविरुद्ध सजग रहन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल माइती नेपाल तथा प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्ने कानुनी पक्षबारे समेत सचेत गराइएको थियो।
उक्त कार्यक्रममार्फत समुदायका महिला, पुरुष तथा बालबालिका गरी जम्मा ३२८ जना लाभान्वित भएका छन्। खुला सीमाना क्षेत्रहरूमा मानव बेचबिखन नियन्त्रण गर्न यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।







